'छुवाछूत कुप्रथा'लाई संरक्षण गर्ने बेथानका नेताहरूलाई हामीले किन भाेट दिने?

Breaknlinks
Breaknlinks

सर्वप्रथम नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नु भएका सम्पूर्ण नेताज्यूहरूलाई हार्दिक बधाई छ।

बेथानमा नेताहरू धेरै जन्मिए तर नेता जति जन्मिए पनि हाम्राे लागि कसैले केही बाेलेनन्।

ती नेताहरूले न कहिल्यै छुवाछूतकाे अन्त्य गराैँ भनेर अभियान चलाए, न गाउँभेला गरेर मिटिङ आमसभा नै राखे। हामीले दिएकाे भाेटले चुनिएका नेताहरूकै घरमा हामीलाई छुवाछूत हुन्छ।

जब हामी तपाईंहरूकाे घरमा लुगा सिलाउन जान्छाैँ, अझै पनि त्यतिबेला बाहिर दलानमा बसेर भात खानु परेकाे छ। के हामी तपाईरूकाे घरमा लुगा सिलाउन जाँदा भित्र पसेर तपाईंहरूसँगै एउटै हारमा बसेर भात खानु हुँदैन ? तपाईंकाे घरमा पस्दैमा म ठूलाे हुने हैन र तपाईंकाे घरमा म पस्दा तपाईं पतन हुने पनि हैन।

म जस्ताे मान्छे छु, तपाईं पनि त्यस्तै मान्छे हुनुहुन्छ। तपाईंकाे घरमा कुल पूजापाठ गर्दा र तपाईंको छाेराछाेरीकाे विहेमा हामी बाजा बजाउन जान्छाैँ तर बारीकाे डिलमा छुट्टै बसेर खानुपर्छ भने तपाईं नेताहरूले हाम्रो लागि के गर्नु भयाे र हामी तपाईंहरूलाई सपाेर्ट गर्नु पर्ने ? के मेराे र तपाईंकाे अस्तित्व एउटै हैन र ?

वास्तवमा नेपालमा 'प्रगतिशील'काे शब्द बेचेर पेट पाल्ने नै ती नेताहरू हुन्। के कम्युनिस्टहरूले बाेले जसरी परिवर्तन भएकाे छ ? बेथानमा माओवादी र एमालेहरू धेरै छन् तर तिनै माओवादी र एमालेकाे घरमा पनि हामीलाई प्रवेश निषेध छ।

के तपाईंकाे जस्तै मेराे राताे रगत ? यस्ता पार्टी विधान पढेर निष्क्लिस्टहरूकाे विचलन विचार पढेर समाज सुधार हाेला ?

हामीले तपाईंबाट के आश गर्ने ? आजसम्म तपाईंले छुवाछूतको अन्त्य हुनुपर्छ भनेर न आफ्नाे दाजुभाइ, छिमेकी र पुरै गाउँलाई भन्नू भएकाे छ।

तपाईंकाे घरमा अझै दलित भनिएका मान्छेहरूलाई प्रवेश निषेध छ भने हामीले तपाईंलाई भाेट किन दिने ? नेताकै घरमा हामीलाई छुवाछूत हुन्छ भने के आश गर्ने बेथानका नेताहरूबाट ?

गाउँमा बिहेभाेजमा समेत हामीले बारीकाे डिलमा छुट्टै बसेर भात खानु पर्छ। के हामीले दलितकाे टाेलमा विहेपूजा र भाेजभतेरमा क्षेत्री, ब्राह्मणहरूकाे लागि छुट्टै भान्छा बनाउनुपर्छ भनेका छाैँ ? बेथानका यस्ता न्यून विचार तथा 'अप्रगतिशिल' नेताहरूबाट हामी दलित भनिएकाहरूले के आश गर्ने ?

बेथानका नेताहरूले 'छुवाछूत गर्नु अपराध हाे, अब हामी सबैले सबैलाई समान व्यवहार गर्नुपर्छ' भनेर कहिल्यै अभियान चलाएका छन् ? यसकाे जवाफ दिन कसले हिम्मत गर्छ ? 

(लेखक सैनिक हुन्।)

प्रकाशित मिति: : 2021-09-30 21:20:00

प्रतिकृया दिनुहोस्