रोजगारीका लागि जिल्ला बाहिर र विदेश गएका सर्वसाधारण चाडबाड मनाउन घर फर्कन थालेपछि अछामका बजार र गाउँमा चहलपहल बढेको छ। देशभित्रकै विभिन्न जिल्ला र भारतमा रहेकाहरू दसैं तिहार मनाउन घर फर्किने क्रम बढेसँगै यहाँका बजार र गाउँमा किनमेल गर्नेको चहलपहल बढेको हो।
जिल्ला भित्रिने सर्वसाधारणको संख्या बढेसँगै सवारीसाधनमा यात्रुहरूको चाप पनि बढेको छ। जिल्लाको चौखुट्टे नाका भएर एक सातामा चार सय ९७ जना महिला र १४ सय ८७ पुरुष भित्रिएको चौखुट्टे प्रहरी चौकीमा असई पदमराज जोशी जानकारी दिए। पछिल्लो एक महिनामा मात्रै आठ सयभन्दा बढी यात्रु साँफेबगर हुँदै जिल्ला भित्रिएको यातायात व्यवसायीको भनाइ छ।
सुदूरपश्चिम बस टिकट काउन्टर साँफे छिपेखोलाका चक्रबहादुर कुँवरका अनुुसार बसमा यात्रुको चाप नभए पनि दैनिक दुई सयको हाराहारीमा सर्वसाधारण जिल्ला भित्रिएका छन्। कर्णाली रिभर यातायात साँफेबजार टिकट काउन्टरका इन्चार्ज दिपेन्द्र कुँवरले पनि दैनिकी दुई सयभन्दा बढी सर्वसाधारण आइरहेको बताए।
जिल्ला प्रहरी कार्यालय अछामले दसैं, तिहार पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई रोक्न विशेष सुरक्षा योजना बनाएको प्रहरी कार्यालयले जनाएको छ। दसैं र तिहारका बेला हुन सक्ने चोरी, डकैती, ठगी लगायतका आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले जानकारी दिए।
विशेष सुरक्षा योजना
अछामका शहरी र ग्रामीण क्षेत्रलाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाएको र २४ वटा स्थानमा विशेष टोली परिचालन गरेको प्रमुख प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिए। उनले जिल्लामा कार्यरत तीन सय सुरक्षाकर्मी मध्ये ८२ प्रहरीलाई दसैं, तिहारमा शान्ति सुरक्षा कामय राख्न विशेष रुपमा परिचालन गर्ने तयारी भएको जानकारी दिए।
नागरिक कक्ष स्थापना
प्रहरीको विशेष सुरक्षा योजनामा सिमाक्षेत्रका चार स्थानमा नागरिक सहायता कक्ष स्थापना, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन रहेको छ। यस्तै, मोबाईल गस्ती, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विशेष सुरक्षा योजना, बैंक तथा वित्तीय संस्थालाई विशेष निगरानीमा राख्ने नीति लिएको प्रहरीले जनाएको छ।
दसैं तिहारमा धर्ना, जुलुस भएमा त्यसको नियन्त्रणका लागि प्रहरी परिचालन हुनेछन्। चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गरिने प्रहरीको भनाइ छ। चाडपर्वका बेला जिल्लाभर करिब २ सय २८ प्रहरी परिचालन गरिने प्रमुख नायव उपरीक्षक अर्यालले जानकारी दिए।
कल्पना बोहरा