योगेश भट्टराईको गाउँमा रूखको टुप्पोमा मात्र भेटिन्छ इन्टरनेट

Photo: NK
Photo: NK

डाँडामा एउटा डाले घाँसको जस्तै रूख छ। डाँडादेखि तल हेर्‍यो भने कहालीलाग्दो भिर। निकै परदेखि हेर्दा रूखमा एउटा बाँदर बसेजस्तो देखिन्छ।

तर, विस्तारै डाँडामा रहेको रूख नजिक पुग्दा थाहा हुन्छ, त्यो  त मोबाइलमा इन्टरनेट चलाउनका लागि  चितेन्द्र लिङ्देन डाँडाको रूखमा चढेका रहेछन्। उनलाई नेटबाट आफ्नो कागजात ईमेल गर्नुपरेको रहेछ। डाँडामा र त्यसमाथि पनि रूखमा चढेपछि मात्र यहाँ नेटले काम गर्दोरहेछ।

यो घटना ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका- ५ येम्पाङको हो। येम्पाङ गाउँका चितेन्द्र लिङ्देनलाई गत आइतबार आफ्नो अतिआवश्यक कागजात काठमाडौं पठाउनुपर्ने भयो। उनले मोबाइलको नेटवर्क खोज्दै डाँडासम्म पुगे। डाँडामा भएको रूख चढेर एक घन्टाको मोबाइल डाटा प्याकेज लिएर आफ्नो कागजात ईमेलमार्फ काठमाडौं पठाए ।

सन्दीप लिम्बूका दाजु-भाउजू भारतमा बस्छन्। दाजु र भाउजूसँग कुराकानी गर्न मोबाइलमा राम्रो नेटवर्क आउने ठाउँ खोज्दै झाँक्रे डाडाँमा पुगे। झाँक्रे डाँडामा भएको एउटा रूखमा चढेर उनले आफ्ना दाजु-भाउजूसँग भिडियो कलमा कुराकानी गरे धित मरुन्जेल।

अझ झाँक्रे डाँडामा निकै अप्ठ्यारो ठाउँ भएकाले सीमित मान्छे मात्र यहाँ मोबाइबाट इन्टरनेट चलाउन आउने गरेका छन्। डाँडादेखि तल हेर्दा कहालीलाग्दो भिर छ। त्यसैले महिला, बालबालिका भने अर्कै डाँडामा जाने गरेको स्थानीय सन्दीप लिम्बूले बताए।

इन्टरनेटबाट केही काम गर्नुपर्ने भयो भने एक घण्टा उकालो हिँडेर सल्लेरी डााडा पुगेर इन्टरनेटबाट काम गर्नुपर्ने मेरिङ्देन गाउँपालिका- ६ नाल्बुका स्थानीय विमना लिम्बूले बताइन्। गाउँमा इन्टरनेट सेवा नहुँदा शिक्षामा समेत पछि परेको लिम्बूको भनाइ छ। शहरमा अनलाइन कक्षा हुन्छ तर गाउँमा अनलाइन भनेको के हो भन्नेसमेत थाहा छैन', लिम्बूले भनिन्।

इन्टरनेट नहुँदा गाउँपालिका काम गर्नसमेत समस्या हुँदै आएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए। उनले भने, 'गाउँपालिकाको कार्यालयमा राम्ररी नेट नचल्दा कार्यलय संचानल गर्नसमेत सास्ती हुँदै आएको छ। यस्तै हो भने सदरमुकामदेखि नै गाँपालिकाको सेवा संचालन गर्न बाध्यता हुन्छ।'

स्थानीय सरकारको प्रमुख प्रशासकीय कार्यालयमै इन्टरनेटको समस्या भएपछि अन्य क्षेत्रमा कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ।

गाउँमा मोबाइलमा फोरजी सेवा नहुँदा दुई घन्टा हिँडेर डाँडेनी डाँडामा पुगेर शेयर कारोबार गर्दै आएको फक्ताङलुङ गाउँपालिका- ६ का स्थानीय विवश लिम्बूले बताए। गाउँघरमै मोबाइलमा फोरजी सेवा नभएका कारण राम्रो ठाउँहरूमा लगानी गर्नबाट समेत बन्चित हुनुपरेको लिम्बूको गुनासो छ। आफूले लगाएको लगानी कतिखेर वृद्धि भयो, कुन समयमा घट्यो, समयमै थाहा नपाउँदा लगानीसमेत जोखिममा पर्ने गरेको लिम्बूको भनाइ छ ।

इन्टरनेटको राम्रो सेवा नहुँदा चिठी पत्रको सहयतामार्फ सूचना आदानप्रदान गर्दै आएको फक्ताङलुङ गाउँपालिका- ७ याङ‌्माका स्थानीय ठावा शेर्पाले बताए। याङ‌्मा क्षेत्रमा कुनै संचारको पहुँज पुग्न सकेको छैन। संचार सेवाको पहुँज नहुँदा खबर आदानप्रदान गर्नमा सास्ती खेप्दै आएको स्थानीय फिन्जो शेर्पाले बताए।

ताप्लेजुङ जिल्लाका धेरै भूभागमा अझै मोबाइल सेवाको सहज र प्रभावकारी पहुँच छैन। मोबाइल सेवा पुगेका क्षेत्रहरूमा पनि मोबाइलमा कुराकानी गर्दा प्रस्ट नबुझिने फक्ताङलुङ गाउँपालिका- ६ का स्थानीय रोशन लिम्बूले बताए।

ताप्लेजुङमा २० वटा मोबाइल टावर संचालन भइरहेका जिल्ला दूरसंचार कार्यालय ताप्लेजुङले जनाएको छ। नौवटा टावरमा फोरजी सेवा संचालन भइरहेको दूरसंचार कार्यालय प्रमुख शिवकुमार सिंहले बताउए । ११ वटा टावरले टुजी सेवा दिँदै आएका सिंहले जानकारी दिए।

अहिले संचारको पहुँज नपुगेको याङ‌्मा क्षेत्रमा मोबाइल सेवा पुर्‍याउन सरोकारवालसँग समन्वय गर्ने प्रमुख सिंहले बताए।

गत साता मात्र प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङका विभिन्न १० स्थानमा संचार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएका छन्। भट्टराईले नेपाल टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेट गरी ताप्लेजुङका विभिन्न १० ठाउँमा संचार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न मागसहित पत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न ध्यानाकर्षण गराएका हुन् ।

भट्टराईले अप्टिकल फाइबर तत्काल ताप्लेजुङ पुर्‍याउन साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गर्दै ताप्लेजुङको मैवाखोला गाउँपालिका- २ ढुंगेसाँघु, मेरिङ्देन गाउँपालिका- ६ नाल्बु, फक्ताङ्लुङ गाउँपालिका- ६ लुवाडाँडा, आठराई गाँउपालिका फूलबारी, फुङ्लिङ नगरपालिका दोखु, देउलिङ्गे मिक्वाखोला गाउँपालिका- ५ किलिङ, सिरिजङ्घा गाउँपालिका- ५ खेवाड, सिदिङ्वा गाउँपालिका- १ कालीखोला, फक्ताङ्लुङ- ७ याङ‌्मालगायतका क्षेत्रमा टेलिफोन टावर राख्न आग्रह गरेका छन्।

दिलकुमार लिम्बू

प्रकाशित मिति: : 2021-10-01 18:36:00

प्रतिकृया दिनुहोस्