राप्रपामा ‘तरमारा’लाई तह लगाउन विधानमा कैँची !

रातोपाटी

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा निर्वाचन नलड्ने तर मनोनयनमा परेर निरन्तर पदमा रहिरहने नेताहरुलाई लगाम लगाउने गरी विधान संशोधनको तयारी भएको छ। पार्टीको अन्तरिम विधान संशोधनका लागि विधान मस्यौदा समिति बनाएर कामलाई तिव्रता दिइरहेको समितिमा हाल कायम निर्वाचन प्रक्रियामा व्यापक परिवर्तन गर्न छलफल सुरु भएको हो।

पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाको संयोजकत्वमा रहेको  विधान मस्यौदा समितिले कार्यकर्ता तहसम्म छलफल गरेर विधान मस्यौदाको काम थालेको मस्यौदा समितिका सदस्य रामशरण पाठकले रातोपाटीलाई जानकारी दिए। ‘हामी नेता कार्यकर्ता समेतको सुझाव समेटेर विधानको मस्यौदा लेखनमा लागिपरेका छौँ’, उनले भने, ‘महाधिवेशनको मिति आउन अझै समय बाँकी रहेकाले त्यतिबेलासम्म तयार गरेर पार्टीको कमिटीमा पेश गर्छौँ।'

विधान समितिका सदस्यका अनुसार यसअघि राप्रपामा अध्यक्ष र ६० प्रतिशत केन्द्रीय समिति सदस्यमात्रै निर्वाचनबाट चयन गर्ने प्रावधान रहेकोमा अब पदाधिकारीमा पनि चुनाव गर्नुपर्ने आवाज उठेको छ। यस्तै निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्य संख्या बढाउनेबारे पनि छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2021-10-08 15:26:00

प्रतिकृया दिनुहोस्