पछिल्लो समय बलिउडमा ओटीटीको दबदबा बढ्दै गइरहेको छ।
कोरोना भाइरसपछि सिर्जित अवस्थाले गर्दा भारतमा ओटीटी प्लेटफर्मले दर्शकमा पुग्ने राम्रो मौका पाए। डिजिटल प्लेटफर्ममा भएका कन्टेन्ट लोकप्रिय भए साथै नयाँ कन्टेन्ट क्रिएटरलाई पनि उत्तिकै जिम्मेवारी थपियो।
भारतमा लगानी र कन्टेन्टमा क्रियाशील ओटीटी प्लेटफर्मले पछिल्लो समय त्यसलाई झनै बढाएका छन्। यसैले गर्दा बलिउडका दुई सुन्दरी डिजिटल प्लेटफर्ममा देखिँदै छन्। माधुरी दीक्षित र रविना टन्डनले डिजिटल डेब्यु गर्दै छन्। यी दुई जनाको सिरिजलाई रिलिज गर्ने तयारीका साथ नेटफ्लिक्सले टिजर सार्वजनिक गरेको छ।
बलिउडमा धकधक गर्लको ट्याग पाएकी अभिनेत्री माधुरी दीक्षित अब डिजिटल प्लेटफर्मतर्फ छिटै देखिने भएकी छन्। पछिल्लो समय उनले वेब सिरिज गर्ने निर्णय लिएसँगै उनी ओटीटीमा आउने भएकी हुन्। करण जौहरको प्रोडक्सन हाउसबाट बन्न लागेको वेब सिरिज 'फाइन्डिङ अनामिका'मार्फत उनले डिजिटल डेब्यु गर्ने भएकी हुन्।
नेटफ्लिक्समा रिलिज हुने यो वेब सिरिज फेमिली ड्रामा हुनेछ। माधुरी पनि आफ्नो डिजिटल डेब्युलाई लिएर उत्साहित छिन्।
यस्तै, पछिल्लो समय पर्दाबाट टाढा रहेकी रविनाले पनि थ्रिलर सिरिज अरन्यकमा काम गरेकी छन्।
उनको डिजिटल डेब्यु पनि छिटै हुने नेटफ्लिक्सले जनाएको छ। उनले पनि डिजिटल डेब्यु भएसँगै सिरिजमा निरन्तरता दिने जनाएकी छन्। 'पाएको भूमिकालाई स्वतन्त्र तरिकाले निर्वाह गर्न पाइन्छ, त्यसैले सिरिजमा काम गर्न रमाइलो भयो', उनले भनिन्।