आफ्नो बुबा विरोध खतिवडा स्वाथ्यमन्त्री बनेपछि मिस नेपाल-२०१८ कि विजेता श्रृंखला खतिवडाले खुशी व्यक्त गरेकी छन्।
उनी हाल उच्च शिक्षाको लागि अमेरिकामा छिन्। उनले सामाजिक सञ्जालमा बुबालाई बधाई दिँदै सफल कार्यकालको कामना पनि गरेकी छन्।
उनले लेखेकी छन्, 'तपाईको छोरी हुन पाउँदा म आफूलाई सधैँ गर्व महशुस गर्छु। जनताको सेवाप्रति तपाईको समर्पण देखेर म सधैँ अचम्म पर्थे। कहिल्यै ठूलो सपना देख्नु भएन, तर अरुका ठूला सपनाहरु पूरा गरिदिन तपाई खटिएको देख्दा म आफैलाई पनि कति पटक डाहा लाग्थ्यो। प्यारो बुबा, मलाई आशा छ अब तपाई झन् व्यस्त रहनुहुनेछ। तपाईको अपार ज्ञानले पक्कैको पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ। उही तपाईकी प्यारी छोरी तथा शुभचिन्तक !'
कानून व्यवसायीको पुरानो पृष्ठभूमि भएका खतिवडा ०३५ सालमा अनेरास्ववियूको काठमाडौं जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका थिए। उनी मकवानपुरमा २०४८, २०५१ र २०५६ मा निर्वाचित भएका थिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ बाट निर्वाचित खतिवडाले लामो समय राजनीतिमै बिताए। नेपाल बारको सदस्य रहेका उनी एमाले लेखा आयोगको सदस्य समेत भएका थिए।
२०१७ सालमा मकवानपुरमा जन्मिएका उनी पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा १२ पटक जेल र हिरासतमा पुगेका थिए।
बिहिबार विस्तार भएको मन्त्रिपरिषद्मा उनी माधव नेपाल नेतृत्वको नेकपा (एस)बाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा पुगेका छन्।