‘कुलःछी भ्वे’ दुईमाने भोज होइन – संस्कृतिकर्मीहरु

देशसञ्चार

काठमाडौँ

ईश्वरकाजी खाइजू

दसैँको आज आठौं दिन अर्थात महाअष्टमी पर्व। नेपाली भाषीहरुले दुर्गा माताको पूजा गरी महाअष्टमी पर्व धुमधामसँग मनाउँछन्। आज नेपालभाषीहरुले भने कुलःछी भ्वे (कूल भोज) खाने गर्छन्। यो भोजमा नेपालभाषीहरु सपरिवार सहभागी हुनुपर्छ। पहिले घरको कोही सदस्य बित्दा १३ देखि ४५ दिनसम्म बार्नुपर्ने नाताकुटुम्ब यस भोजमा सहभागी हुने प्रचलन थियो। अहिले दुगु पूजा (देवाली) मा सहभागी हुने घरका सबै परिवार कुलःछी भ्वेमा अनिवार्य सहभागी हुनुपर्छ।

कुलःछी भ्वेलाई दुईमाने भोज भनेर अहिले बदनाम गरिएको भन्दै संस्कृतिकर्मीहरुले आपत्ति जनाएका छन्। उनीहरुले यो कुछी (दुईमाना) नभई कुलःछी भ्वे भएको स्पष्ट पारे।

उनीहरुका अनुसार कुछीको शाब्दिक अर्थ दुई माना हो तर कुलःछी भनेको दुईमाना होइन। कुलःछी भ्वे अप्रभंश हुँदै कुःछी भ्वे भए पनि यसलाई दुईमाने भोज भन्नु अनर्थ हुने र वाहियात भएको उनीहरुको भनाइ छ। नेपालभाषीहरुको पर्व र संस्कारलाई दूषित बनाउने उद्देश्यले कुलःछी भ्वेलाई दुईमाने भोज भनेर प्रचार गर्नु भाषिक र सांस्कृतिक अतिक्रमण भएको संस्कृतिकर्मीहरुले औंल्याएका छन्।

प्रकाशित मिति: : 2021-10-13 11:46:00

प्रतिकृया दिनुहोस्