जनकपुरका पोखरी मास्दै, संस्कृति नास्दै

जनकपुरलाई पोखरी र मन्दिरको सहर भनेर चिनिन्थ्यो। यस नगरीको धार्मिक तथा सांस्कृतिक महत्व दर्शाउँदै एक सन्त कविले लेखेका थिए– ‘बावन कुटी, बहत्तर कुण्डा ! फिरही सन्तजन झुन्डही झुन्डा !!’ अर्थात्, ५२ कुटी (मठमन्दिर) र ७२ कुण्ड (पोखरी, कुवा, इनार)। भ्रमण गर्छन्, साधुसन्त झुन्डका झुन्ड। तर, यो चिनारी फेरिँदै गएको छ। यहाँका धार्मिक तथा सांस्कृतिक महत्वका पोखरी मासेर ठूलठूला भवन खडा गरिएका छन्। 

जनकपुरधाम–४ का वडाध्यक्ष सुदर्शन सिंह आफ्नो वडामा रहेका विसहरा, मटकोरवा र मुरली सरलगायत पोखरीमा अतिक्रमण बढिरहेको बताउँछन्। ‘अतिक्रमणमुक्त गराउन मैले पटक–पटक उपमहानगरपालिकालाई पत्राचार नै गरेको छु। तर, सार्वजनिक सम्पत्ति संरक्षणको जिम्मेवार उपप्रमुख नेतृत्वको न्यायिक समितिले यसतर्फ कुनै पहल गरेको छैन’, वडाध्यक्ष सिंह भन्छन्, ‘उपमहानगरपालिकाले पोखरी र सार्वजनिक सम्पत्ति संरक्षणका लागि जुन तत्परता देखाउनुपर्ने हो त्यो देखाएको छैन।’

प्रसिद्ध जानकी मन्दिरभन्दा उत्तरतिर छ पौराणिक तैलघृतिका सर। यसलाई स्थानीयले तेलहा पोखरी भन्छन्। यसलाई अहिले होटल व्यवसायीले फोहोर फाल्ने खोल्सामा परिणत गरेका छन्। २०४२–४४ को सहरी नापीमा ०–११–७–० क्षेत्रफल रहेको यो पोखरी चौतर्फी अतिक्रमणको सिकार भएको छ। पोखरीको डिल कब्जा गरेर ठूलठूला निजी भवन बनाइएका छन्।

प्रकाशित मिति: : 2021-10-22 07:50:00

प्रतिकृया दिनुहोस्