मिडियासँग प्रसन्न डोवाटे 

गण्डकी प्रदेशका सांसद डोवाटे विश्वकर्माले असोज २५ मा विना विभागीय मन्त्रीको शपथ लिए। मन्त्रीको शपथ लिएको एक साता पुगि सकेको छ।

अघिल्लो सरकार विघटनपछि गठन भएको गठबन्धन सरकारमा मन्त्रीको हुनेको लिस्टमा डोवाटेको पनि नाम थियो। यद्यपि, शपथ हुनुभन्दा केही समयअघि मात्रै उनको नाम काटियो। उनको सट्टामा सांसद विन्दुकुमार थापा मन्त्री बने।

दौरा सुरुवाल लगाएर मन्त्रीको शपथ लिन आउँदै गरेका डोवाटेलाई उपेक्षा गरेको भन्दै व्यापक आलोचना पनि भयो। राष्ट्रिय राजनीतिमै तरंग ल्याउने गरि भएको यो आलोचनाले अन्तत डोवाटे मन्त्री बने।

मन्त्री बनेपछि डोवाटे विश्वकर्मा मिडियासँग निकै प्रसन्न छन्। शुक्रबार पत्रकारहरुलाई डाँकेर मिडियाकर्मीकै साथ सहयोगले मन्त्री बनेको उनले बताएका छन्।

‘त्यो बेलामा मौका प्राप्त नहुनु पार्टी भित्रको आन्तरिक कारण हो। हामी सबै जना सांसद भईसकेपछि मन्त्रीको रेसमा धेरै जना दौडिदै हुनुहुन्थ्यो,’ उनले भने,‘दौडिने बेलामा म अलि दौडिन सकिन होला। पार्टीको आन्तरिक कारण हो। यसलाई सहज रुपमा लिन सक्नुपर्छ।’

यद्यपि आफू पार्टीको सामान्य कार्यकर्ता रहेको र पार्टीले दिएको जुनसुकै जिम्मेवारी स्वीकार्ने उनी बताउँछन्। संविधानले गरेको व्यवस्था अनुसार समावेश गर्न सकिएन कि ! भन्ने अनुभूति भएर पार्टीले मन्त्री बनाएको उनको ठम्याई छ।

पत्रकारहरुसँग खुशी साट्दै डोवाटले मुख्यमन्त्रीलाई चाँडो जिम्मेवारी दिनका लागि दबाब सिर्जना गर्न नभई पत्रकारहरुलाई धन्यवाद लिन डाँकेको बताए। ‘यो पत्रकार सम्मेलन दबाब सिर्जना गर्न होइन। २५ गते बेलुका शपथ लिएँ। दसैं भयो। मन्त्रालय आएको २ दिन भयो। जिल्लामा भेटघाट भयो। जिम्मेवारी के हो ? मौका पाएको छैन,’ उनले भने।

मन्त्रीको शपथ लिईसकेपछि मन्त्रालयबारे कुनै छलफल नभएको उनले बताए। मन्त्रालाय लिन कुनै हतार नभएको उनी बताउँछन्। ‘मन्त्रालय दिनुपर्छ भनेर भनेको छैन। यो मन्त्रालय नभई हुँदैन भनेर भनेको छैन। पार्टीले मलाई जिम्मेवारी दिएर पठाएको छ। मुख्यमन्त्री ज्यू  लाई मैले सक्दो सहयोग गर्ने हो,’ उनले भने।

बलियो मन्त्रालय पाउँने लोभ नभएको बताउने डोवाटे जुन मन्त्रालय दिए पनि खुसी हुने बताउँछन्।

रामचन्द्र गुटका डोवाटे मन्त्री बन्नकै लागि गुट परिवर्तन गर्नुभयो कि ? भन्ने प्रश्नमा मन्त्री बनाउन रामचन्द्र पौडेलकै ठूलो भुमिका रहेको उनले बताए। ‘मलाई मन्त्री बनाउनुपर्छ भन्ने कुरामा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार विघटन हुनुभन्दा अघिदेखि नै गण्डकी प्रदेश सरकार विघटन हुँदैछ। डोवाटे विश्वकर्मालाई मन्त्री बनाउनुपर्छ भनेर कुरा राख्नु भएको थियो। त्यो बेलामा हुन सकेन त्यो आफ्नो ठाउँमा रह्यो,’ उनले भने।

प्रकाशित मिति: : 2021-10-22 20:16:00

प्रतिकृया दिनुहोस्