पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

File Photo
File Photo

पोखरामा गण्डकी प्रदेश स्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको छ। कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक औपचारिका कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।

मन्त्री श्रेष्ठले  निर्देशन कार्यशालाले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशिल बनाउन सघाउने विश्वास व्यक्त गरे। नाटकमा पस्कने सामाग्री जस्ताको तस्तै दर्शकमाझ पुग्ने भएकोले यसरी पस्कने सामाग्रीमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ। गण्डकी प्रदेशको नाट्य क्षेत्रको विकासमा सदैव साथ रहने उनले प्रतिवद्धता व्यक्त गरे।

नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व सदस्य सचिव समेत रहेका संस्कृतीकर्मी तिर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै प्रदेशको साहित्य तथा कलाको क्षेत्रमा केही सकारात्मक संकेत देखिएको भन्दै खुशी व्यक्त गरे। कोरोनाका कारण थला परेको नाट्यक्षेत्रलाई चलायमान बनाउन कार्यशालाले सघाउने उनको विश्वास छ। नेपालको नाट्य क्षेत्रमा पोखराको बेग्लै छाप रहेको उनको भनाई थियो।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्ती डा.विश्वकल्याण पराजुली, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बोलेका थिए।

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्ला मध्य मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाबाट २२ जनाको सहभागिता रहेको छ। मनाङ र मुस्ताङबाट भने सहभागीता नभएको आयोजकको भनाई छ।

कार्यशालाले गण्डकी प्रदेशमा नाटक प्रतिको आर्कषण बढाउन सहयोग पुग्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार क्षेष्ठले बताए। यो वर्ष नाटकसँग सम्बन्धित तीनवटा कार्यक्रम प्रतिष्ठानले आयोजजना गर्ने मन्त्री श्रेष्ठले बताए। कार्यक्रममा १५ जना प्रशिक्षकले प्रशिक्षार्थीलाई प्रशिक्षण गराउने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए।

कार्यशाला कार्तिक १५ गतेसम्म चल्नेछ। पोखरा थिएटरसँगको सहकार्यमा आयोजित कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन हुने छ्स।

प्रकाशित मिति: : 2021-10-23 07:57:00

प्रतिकृया दिनुहोस्