स्थानीय तह निर्वाचन

काे बन्ला घोराही उपमहानगरको मेयर, दाेहाेरिएलान् नरूलाल ?

Breaknlinks
Breaknlinks

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँग को-काे उम्मेदवार बन्ने भन्ने चर्चा सुरू भइरहेको छ। पार्टीले टिकट कसलाई दिने भन्ने निश्चित नभएपनि सम्भावित उम्मेदवारले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिन थालिसकेका छन्।

सोहीअनुसार दाङको घोराही उपमहानगरपालिकामा को उम्मेदवार बन्छ भन्ने विषय प्रमुख बन्दै आएको छ। दशकै ठूलो उपमहानगरसमेत रहेको घोराहीमा हाल नेकपा एमालेबाट निर्वाचित नरूलाल चौधरी मेयरका रूपमा रहेका छन्।

उनी अघिल्लो ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नेता भूपबहादुर डाँगीलाई ४ हजार ५४६ मतले पछि पार्दै मेयर बनेका थिए।

चौधरीले २२ हजार ३० मत पाउँदा डाँगीले १७ हजार ४ सय ८४ मत पाएका थिए। यस्तै माओवादी केन्द्रबाट उम्मेदवार बनेका जीवन गौतमले मात्र १२ हजार ८२ मत प्राप्त गरेका थिए।

आगामी वैशाख ३० गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि घोराहीमा यी तीन अनुहारको चर्चा हुन थालिसकेको छ। एमालेबाट नरूलाल चौधरी मेयरका उम्मेदवार बन्ने लगभग निश्चित जस्तै भइसकेको एमालेका एक जिल्ला सदस्य दाबी गर्छन्।

‘घोराहीको मेयरमा नरूलालको विकल्प छैन। उनी राम्रा व्यक्ति पनि हुन्। उनले अहिलेको पाँच वर्षे कार्यकालमा घोराहीमा देखिने गरी काम गरेका छन्। भोलिको घोराहीलाई बनाउन उनी जस्तो सक्षम अरू हुन सक्दैनन्’, ती सदस्यले भने।

चौधरी एमाले पोलिटब्यूराे सदस्य हुन् भने एमाले दाङको ईन्चार्ज पनि हुन्। उनले हाल उम्मेदवार बन्ने गरी चुनाव लक्षित कार्यक्रम गर्न थालिसकेका छन्। रेडियो नेपालको जागिर छाडेर राजनीतिमा होमिएका चौधरी एक शालिन व्यक्तिका रूपमा पनि चिनिन्छन्।

एमाले महासचिव शंकर पोखरेलको विश्वासिलो पात्र भएकाले पनि चौधरीले अबको घोराहीको मेयर बन्न टिकट पाउने निश्चित जस्तै देखिन्छ।

यस्तै नेपाली काँग्रेसबाट यस पटकको टिकट पाउनेमा अघिल्लो निर्वाचनमा नरूलालसँग पराजित भएका नेता भूपबहादुर डाँगीको नामले चर्चा पाउने गरेको छ। उनले एक वर्षअघि नै पत्रकार सम्मेलन गरेर आफू मेयर बन्ने तयारीमा लागेको घोषणा गरेका थिए।

पार्टीले कसलाई टिकट दिने हो, त्यो त्यसै भन्न नसकेपछि डाँगीले टिकट पाउने सम्भावना प्रवल रहेको काँग्रेस निकट एक नेताले बताए। २०३० सालदेखि नेपाली काँग्रेमा आवद्ध रहेका डाँगी निरन्तर राजनीतिक यात्रामा क्रियाशील छन्।

डाँगी काँग्रेसभित्र सालिन र भद्र नेता पनि मानिन्छन्। उनले काँग्रेसका विभिन्न विभागको जिम्मेवारी सम्हाल्दै दाङ क्षेत्र-२ को सभापतिसमेत भइसकेका छन्। डाँगीसँगै काँग्रेसका किशोर चन्द्र गौतम र प्रकाश श्रेष्ठले पनि घोराहीको मेयरका रूपमा आकांक्षा व्यक्त गरेको काँग्रेस नेताहरू बताउँछन्।

त्यसैगरी माओवादी केन्द्रबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा ठूलो मतान्तरले पराजित भएका जीवन गौतम नै अबको घोराहीको मेयरका रूपमा उम्मेदवार रहेको बताइन्छ। गौतमले अघिल्लो निर्वाचनको मत परिणाम सार्वजनिक भएकै दिन अर्को पटकका मेयरमा उम्मेदवारी घोषणा गरेका थिए।

माओवादी केन्द्रका एक जिल्ला सदस्यले घोराहीमा मेयरको उम्मेदवारको टिकट पाउनेमा गौतमको विकल्प नरहेको बताए। गौतम अहिले चुनाव लक्षित कार्यक्रममा सक्रिय देखिन्छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्जसमेत रहेका गौमत गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए।

उनलाई दाङमा शिक्षा क्षेत्रको विकास गर्ने एक पात्रका रूपमा पनि लिइन्छ। तत्कालीन शिक्षामन्त्रीकाे सल्लाहकार हुँदा गौतमले घोराही इञ्जिनियरिङ कलेज, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयलगायत जिल्लाका दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्यापनको अनुमति प्रदान गर्न भूमिका खेलेको माओवादी नेताहरू बताउँछन्।

माओवादीबाट नेता हेमराज शर्मा पनि मेयरमा आकांक्षी रहेको बताइन्छ। तर उनको सम्भावना निकै कम देखिने राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ।

यसैबीच माथि उल्लेखित तीन पात्र चौधरी, डाँगी र गौतम मध्येमा गठबन्धनविना एक्ला–एक्लै चुनावी मैदानमा होमिएमा चौधरीको (हालका मेयर) जित निश्चित जस्तै रहेको बताइन्छ।

अहिले सरकारमा रहेको पार्टी काँग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरे भने केही कठिन परिस्थिति सृजना हुने भएपनि चौधरीले राम्रो काम गरेकाले उनको पक्षमा भोट आउने एमाले नेताहरू आँकलन गर्छन्।

अघिल्लो निर्वाचनमा घोराहीका १९ वटा वडामध्ये एमालेले १०, कांग्रेसले ६ र माओवादीले ३ वडा जितेका थिए। घोराहीमा एमाले कमजोर भएकाे आँकलन गरेपनि निर्वाचनमा ठूलो मतान्तरले चौधरीले नै जित हात पारेका थिए।

जिल्लामा नै एमालेको प्रभाव राम्रो रहेको र कमजोर देखिने बंगलाचुली गाउँपालिकामा पनि यसपटक आफूहरूले नै जित निकाल्ने एमाले दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले बताए।

प्रकाशित मिति: : 2022-03-31 06:51:00

प्रतिकृया दिनुहोस्