पोखराकाे नयाँ ‘ल्याण्डफिल साइट’ पस्मराङमा, पानीकाे मुहान सुक्ने भन्दै स्थानीयले थाले विराेध

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्रािष्ट्रय विमानस्थल र ल्याण्डफिल्ड साइट नजिकै पर्छ। ल्याण्डफिल्ड साइटले विमानस्थललाई असर पार्ने देखिएपछि पोखरामा हालको ल्याण्डफिल साइट सार्ने होमवर्क (गृहकार्य) थालिएको थियो।

विमानस्थल सञ्चालनमा आउने मिति नजिकिदै गर्दा बल्ल नयाँ ल्याण्डफिल्ड साइटको टुंगो लागेको छ। पोखरा महानगरपालिका कार्यपालिका बैठकले वडा नं. १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने निर्णय गरेको हाे।

पोखरा– १४ मा रहेको अहिलेको ल्याण्डफिल्ड साइटलाई सारेर १६ र २० वडाको सीमानामा लैजाने भनिएपछि स्थानीय भने विरोधमा उत्रिएका छन्। संघर्ष समिति नै गठन गरेर कुनै पनि हालतमा ल्याण्डफिल्ड साइट ल्याउन नदिने तयारीमा स्थानीय छन्।

‘भर्खर ल्याण्डफिल्ड साइट बनाउने निर्णय भएको छ। विरोधहरुका बारेमापछि छलफल हुँदै जाला,’ पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले भने।

नयाँ ल्याण्डफिल साइटमा पोखरा वडा नं. १३, १६, २० र ११ को खानेपानीको मुहान छ। काहुँ तथा काली खोलाको मुहान क्षेत्र रहेकोे मुहानको पानी ५ सय बढी घरधुरिले पिउँछन्। २ वटा मुहानबाट भलाम, र्‍यालेचोर, काहुँ लगायतका बासिन्दाले खानेपानी र सिँचाइका लागि प्रयोग हुँदै आएको छ।
महानगरले पेलेर अघि बढ्न खोजेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। पानीको स्रोतको रुपमा प्रयोग हुँदै आएको पस्मराङलाई विकासको नाममा मासेर विनाश गर्न नहुने स्थानीय बताउँछन्।

स्थानीय शिवप्रकाश अधिकारी पानीको मूल सुकाएर फोहोर फाल्न दिन नसकिने बताउँछन्। ‘विकास हुनै नदिने भन्ने होइन। तर, कम्तीमा स्थानीयको पीरमर्का त बुझिदिनुपर्छ, छलफल सहमति गर्नुपर्छ,’ उनले भने, ‘पानीको मूल दूषित मात्रै होइन, सुक्ने गरी हामी कसरी सहमति दिने ?’

यसअघि महानगरकाे छाडा पशुचौपाया व्यवस्थापनको रुपमा प्रयोग हुँदै आएको पस्मराङ क्षेत्रमा ल्याण्डफिल्ड साइट बनाउन लागिएको छ। स्थानीयको विरोधपछि छाडा पशुचौपायको व्यवस्थापन वडा नं. १४ मै सारिएको थियो। छाडा पशुचौपाया व्यवस्थित पारेर राख्छौं भनेर महानगर झुठो आश्वासन दिएको स्थानीय गुरुप्रसाद आचार्य बताउँछन्।

‘व्यवस्थित तरिकाले राख्छौं भनेर हामीसँग झूठ कुरा गरियो। छाडा चौपाया जम्मै भीरमा लडेर मरे,’ उनले भने, ‘छाडा गाई सम्हाल्न नसक्नेले फोहोर कसरी व्यवस्थापन गर्छन् ?’

महानगरले पस्मराङमा ल्याण्डफिल साइट बनाउने कार्यपालिकाको निर्णयपछि सरोकारवाला, स्थानीय बासीसँग छलफल गर्न सहजीकरण समिति पनि बनाएको छ। पोखरा– १९ का वडाध्यक्ष शोभामोहन काफ्लेको संयोजकत्वमा बनेको ६ सदस्यीय सहजीकरण समितिले स्थानीय र सरोकारवाल निकायसँग छलफल गरेर अघि बढ्ने छ।

नयाँ ल्याण्डफिल साइट निर्माणका लागि वडा नं. १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा गठन भएको समितिको सिफारिसमा पस्मराङमा ल्याण्डफिल्ड साइट बनाउन उपयुक्त भएको सिफारिस गरेको थियो। अहिले पोखरा– १४ सेती किनारको ल्याण्डफिल साइट महानगरले ६१ सालदेखि प्रयोग हुँदै आएको छ। १५ वर्षका लागि स्थानीयसँग सहमति गरेर प्रयोग हुँदै आए पनि २ वर्षअघि नै सम्झौता म्याद सकिएकाे छ।

अहिले ल्याण्डफिल्ड साइट बनाउने भनिएको ठाउँमा १५ हेक्टर जमिन नीजि रहे पनि बाँकी सरकारी जग्गा हो।

पोखरा– २० का अध्यक्ष सिम गुरुङ आफूहरु विकास विरोधी नभए पनि बिना कुनै समन्वय ल्याण्डफिल्ड साइट बनाउन खोजिएको बताउँछन्। ‘हामी विकास विरोधी पनि होइनौं, पोखरा एअरपोर्ट चल्न नदिने पक्षमा पनि होइनौं,’ उनले भने, ‘तर, थाहै नदिई ल्याण्डफिल्ड बनाउने। स्थानीयसँग छलफल त हुनु पर्‍यो।’

अध्यक्ष गुरुको स्थानीयको चित्त बुझाएर मात्रै अघि बढाउनुपर्ने मत छ।

प्रकाशित मिति: : 2021-10-27 20:00:00

प्रतिकृया दिनुहोस्