‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल

‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल गरिएको छ। दक्षिण भारतमा आयोजना हुने कुकु इन्टरनेशनल फिल्म अवार्ड हात पारेपछि पोखरामा एक कार्यक्रमबिच फिल्ममाथि छलफल गरिएको हो।

मगर भाषामाथि बनेको ‘परिबन्द’मा न्याय प्रणाली चुस्त नहुँदा आइ लाग्ने समस्या उठाइएको छ। यसअघि काठमाडौंमा ‘स्पाइनी इन्टरनेशनल फिल्म फेस्टिभल’, ‘ब्लयाक वल्र्ड इन्टरनेशनल फिल्म फेस्टिभल केरेला’, ‘लण्डन सट्र्समा फाइनलिस्ट’मा पुगेको थियो।

दक्षिण भारतको तमिलनाडूमा हुने कुकु इन्टरनेशल फिल्म अवार्डमा अर्जेन्टिना, जापन, भारत, अष्ट्रेलिया लगायतका देशमा बनेका सर्ट फिल्मसँग प्रतिस्पर्धा गरेर जित हात पारेको परिबन्दका लेखक तथा निर्देशक मेजन पुनले बताए।

कोभिडको कारण अवार्ड अनलाइनबाटै आयोजना भएको उनले सुनाए। प्रतिश्पर्धामा विजेता घोषित भई सकेपछि अक्टोबर २१ मा तमिलनाडुमा पनि प्रदर्शन भएको थियो।

‘हाम्रो लागि ठूलो कुरा हो। भाषाभाषीमा बनेको फिल्म पनि यो चरणमा पुगेपछि अर्को पनि बाटो रहेछ भन्ने म आफैंलाई पनि रह्यो,’ निर्देशक पुनले भने, ‘यो तरिकाले पनि गर्न सकिने रहेछ भन्ने लागेको छ।’

मगर भाषामाथि बनेको फिल्ममा केही प्रतिशत भाषा भने नेपाली पनि प्रयोग गरिएको छ। समुदाय मगर भए पनि सुरक्षा निकायका पदाधिकारीहरु मगर भाषा नबोल्ने भएकाले नेपाली पनि प्रयोग गर्नु परेको उनले बताए।

भाषामाथि बनेको फिल्मले उपाधि हात पार्नुलाई सकारात्मक रुपमा लिएको उनको धारणा छ। यसअघि नविन सुब्बाद्वार निर्मित नुमाफुङले पनि उपाधि हात पारे पनि पूर्ण भाषामा बनाएर अवार्ड हात पार्ने सम्भवत यो नै पहिलो फिल्म रहेको उनले सुनाए।

‘नेपालकै आदिवासिमा त भएको हो। नेपाल भन्दा बाहिर आफ्नो कम्युनिटीभन्दा बाहिर फस्र्ट नै भयो कि भन्छु,’ उनले भने। 

पहिला फिल्म बनाएर समाजमा मात्रै देखाउदै आए पनि अब बाहिर पनि हुन्छ है भनेर बाटो खुलेको जस्तो लागेको निर्देशक पुनले बताए।

कार्यक्रममा सहभागीहरुलाई फिल्म पनि देखाइएको थियो। निर्देशक पुनले बनाएको मगर भाषामाथिको फिल्म ‘ट्याङचलाक’ डर्बान फिल्म फेस्टिभल र अमेरिकामा बसोबास गर्दै आएका नेपालीले आयोजना गर्ने आदिबासि चलचित्र अवार्ड ‘निफ’मा पनि छनौटमा परेको थियो।

प्रकाशित मिति: : 2021-10-29 20:50:00

प्रतिकृया दिनुहोस्