डेढ वर्षपछि आइपुग्यो स्मार्टकार्ड, केही दिनमै वितरण थालिने

बाह्रखरी

काठमाडाैँ

डेढ वर्ष अगाडि खरिद गरिएका १४ लाख स्मार्टकार्ड नेपालमा आइपुगेको छ । यातायात व्यवस्था विभागले खरिद प्रक्रिया अघि बढाएको फ्रान्सेली कम्पनीले तोकिएको समयभन्दा डेढ वर्ष ढिलो स्मार्टकार्ड पठाएको हो । 

अब विभागले केहीदिनमै स्मार्ट लाइसेन्स छाप्ने काम सुरु गरिने जनाएको छ । लामो समय स्मार्टकार्डको अभावमा लाइसेन्स छापिने काम बन्द भएको थियो । विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार करिब १० लाख सेवाग्राहीले लाइसेन्स निकाल्न खोजिरहेका छन् । ‘‘१४ लाख स्मार्टकार्ड भन्सारमा आइपुगेको छ । अब भन्सारबाट छुटाएर विभागले ल्याउँछ ।

त्यसपछि विभागले छपाइ र वितरण सुरु गर्छ,” महानिर्देशक घिमिरेले भने ।  विभागले कोरोना महामारीका कारण खरिद सम्झौताअनुसार स्मार्टकार्ड आइनपुगेको बताउँदै आएको थियो ।

जसका कारण करिब सात लाख सेवाग्राही प्रभावित बनेका थिए । महानिर्देशक घिमिरेले अबको केहीदिनबाट पहिले ट्रायल परीक्षा पास गरेर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्मार्ट लाइसेन्स वितरण गरिने बताए । सबैलाई स्मार्ट लाइसेन्स वितरण गर्न नसकिएमा पुनः टेन्डर आह्वान गरिने विभागले जनाएको छ । 

प्रकाशित मिति: : 2021-11-24 18:11:00

प्रतिकृया दिनुहोस्