राष्ट्रिय क्रिकेट: बागमतीको रोमाञ्चक जित

File Photo
File Photo

उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य बागमतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। यससँगै पाँच खेलमध्ये बागमतीले दुई खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ।

त्यस्तै पाँच खेलमध्ये चार खेलमा पराजय भोगेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ। बागमतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रनको योगदान दिए भने क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे। बलिङतर्फ कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट लिए भने प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान एक–एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कर्णाली २७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो। कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन जोड्दा सन्दीप शाही १४, विपीन रावल १२ तथा रुपक दाहाल १० रनमा आउट भए।

बागमतीका गौतम केसी एक्लैले चार विकेट हात पारे। विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए। कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मूलपानीमा प्रदेश २ सँग खेल्नेछ भने बागमतीले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ।

प्रकाशित मिति: : 2021-11-30 15:19:00

प्रतिकृया दिनुहोस्