अंग्रेजी नयाँ वर्षसँगै सराङकोटसम्म केबलकार सरर...

केबलकारको सफल परीक्षण

रातोपाटी

काठमाडौं

फेवाताल किनारमा रहेको सेदीबगरदेखि सराङकोटसम्म सञ्चालन हुने केबलकार छिट्टै व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सोही क्रममा केबलकारले बुधबारदेखि परीक्षण सुरु गरेको छ । चार बर्ष पहिले निर्माण थालिएको अन्नपूर्ण केबलकार प्रालिले यात्रु बोक्ने डिब्बा जडानको काम सकिएसँगै परीक्षणका लागि सञ्चालन गरिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए । २ वर्षमा निर्माण गरिसक्ने योजना भएपनि कोभिड महामारीका कारण ४ बर्ष लागेको थियो । त्रिपाठीले भने, ‘परीक्षणको क्रम निरन्तर १० दिनसम्म चल्ने छ, अब यात्रु चढाएर परीक्षणलाई निरन्तरता दिने छौं।

'जापानबाट आएका ७ जना प्राविधिक टोलीले केबलकार परीक्षण गरी सञ्चालनमा ल्याएका हुन् । अन्तरराष्ट्रिय मापदण्ड अनुसारको मापदण्डका चरण पार गरेपछि अंग्रेजी नयाँ बर्षदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालन गर्ने योजना रहेको निर्देशक त्रिपाठीले बताए । पहिलो चरणमा केही सीमित डिब्बा मात्र सञ्चालनमा ल्याइने छन् ।  

पोखराको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनासहित निर्माण गरिएको केबलकारबाट यात्रा गर्दा हिमाल, ताल, हरियाली र पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने निर्देशक त्रिपाठीले बताए । केवलकारमा फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । 

प्रकाशित मिति: : 2021-12-03 11:42:00

प्रतिकृया दिनुहोस्