गौरवान्वित आमा कमला: जसको सहारामा रचना रिमालले भरिरहेकी छिन् सुन्दर उडान

बिबिसी

काठमाडौं

माटोको गारो भएको घर भत्काइयो। वरपर छर छिमेकको जस्तै उनीहरूको पनि पक्की घर बन्दै छ। घरबाहिर चटपटे बेच्न बनाएको टहरो पनि छैन अब त।

कमाइ खाने भाँडो अर्थात् अटो रिक्साको किस्ता तिर्न पनि बाँकी रहेन। समग्रमा- अभाव बाँकी रहेन गायिका रचना रिमालको घरमा।

छोरीले गाएरै घरको नक्सा अनि जिन्दगीको आयाम बदल्छिन् भन्ने सोचेकी थिइनन् उनकी आमा कमलाले। तर, गायकीले नै रचनालाई डोर्‍यायो गायन रियालिटी शो- नेपाल आइडलको मञ्चसम्म।

हुनत उनी प्रतिस्पर्धाको उत्कृष्ट आठबाटै बाहिरिइन् तर उनको गायन यात्रा भने त्यहीँ रोकिएन।

दुई वर्षको अवधिमा आफूले आठ सयभन्दा बढी गीतमा स्वर दिएको रचना बताउँछिन्। देश विदेशको कार्यक्रममा पुग्न उनलाई भ्याइ नभ्याइ भएको छ। फेसबुकमा उनलाई पछ्याउनेको सङ्ख्या तीन लाख छ र उनको यूट्यूब च्यानललाई करिब २ लाखले सब्सक्राइब गरेका छन्।

सारमा भन्नुपर्दा उपलब्धि बढ्दो छ।

“पहिले स्टुडियोमा गाउनु मेरी छोरीको रहर थियो। अहिले काम बनेको छ,” कमलाले बीबीसीसँग गौरवान्वित हुँदै भनिन्।

उमेरले १९ वर्ष मात्र लागेकी छोरीले उनलाई भनेको दिन अझै सम्झिन्छिन् – ‘मम्मी अब म कमाउने भएँ। तपाईँ चटपटे बेच्न छाडिदिनुस्।‘

आँगनको त्यस घुम्ती पसलबाट हुने आम्दानीले तीन छोरीका लागि कापी कलमदेखि तरकारी र मरमसलासम्म जुटाएको कमला सम्झन्छिन्। अहिले छोरीले दिलाएको भरोसाकै कारण त्यो पसल बन्द गरिदिइन्।

छोरीमाथिको विश्वासले जित्यो। रचनालाई कमला र परिवारले दिएको साथ र सहयोगले जित्यो।

“मेरी छोरी पढाइमा निकै अब्बल छे। पढेरै केही गर्छे भन्ने लाग्थ्यो। तर, गाएर सफल भई,” उनले भनिन्,”नाम कमाएकी छ। पैसा त आज हुन्छ भोलि नहुन पनि सक्छ। उसले गाएका गीत र शुभचिन्तक सधैँ रहनेछन्।”

प्रकाशित मिति: : 2021-12-08 08:19:00

प्रतिकृया दिनुहोस्