पोखरामा पुस १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि ८ जना सहभागी छनोट भएका छन्।
नाटक लेखन कार्यशालाका लागि खुल्ला रुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदक मध्येबाट ८ जना छानिएका हुन्।
पोखरा थिएटरका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तनका अनुसार सहभागीमध्ये ८ जनाको नाटक उत्कृष्ट ठहरिएका छन्।
छनौट हुनेमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी, कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ रहेका छन्।
नाटकको नमुना पठाएर आवेदन दिएका मध्येबाट सहभागी छनोट गरिएको कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बताए।
‘कार्यशालामा सहभागी हुनका लागि नाटकको नमुना पठाउनु पर्ने थियो। सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर पठाउनुभयो त्यसको आधारमा सहभागी छनोट गरिएको हो’ संयोजक गुरुङले भने ।
नाटक लेखन कार्यशाला गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेका हुन्। पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन हुने कार्यशाला ११ दिनसम्म चल्ने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले बताए।
‘पुस १ गतेबाट ११ गतेसम्म निरन्तर विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यशाला सञ्चालन गरिनेछ। ११ दिनसम्म पुरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउन खोजेका छौं’ कुलपति ढकालले भने।
कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्ने छन्। प्रशिक्षक लामिछानेलेनै आवेदन दिएका मध्येबाट ८ जना छनोट गर्नुभएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।
‘हामीले सुचनाजारि गरि नाटकको आवेदन आह्वान गरेका थियौं। उक्त सुचनाको आधारमा १५ नाटककारले आफ्नो नाटक तोकिएको समयभित्रदर्ता गर्नुभएको थियो । १५ नाटकबाट प्रशिक्षक खगेन्द्र लामिछानेले ८ नाटककारका नाटकलाई छनोट गर्नुभएको हो’ परिवर्तनले भने। कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुनेछ।