श्रीलकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु-१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो।
श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेकाे हाे। नेपालको पहिलो जितमा फरवार्ड रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक एक गोल गरे।
खेलको पाँच मिनेटै रश्मीले नेपाललाई सुरूवाती अग्रता दिलाइन्। त्यसको एक मिनेट बित्न नपाउँदै सविता राना मगरले दोहोरो अग्रता बनाइन्। मेनुका आले मगरले ४३ मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले ३-० को अग्रता बनायो।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै फरवार्ड रजनी थोकरले नेपाललाई ४-० को स्थितिमा पुर्याइन् भने सलोनी राना मगरले ५३ औं मिनेटमा छैटौं गोल गरिन्। खेलको ८५ मिनेटमा रश्मीले फ्रि किकमा गोल गर्दै नेपाललाई ६-० अन्तरको जित दिलाइन्।
नेपालले सुरुवाती मिनेटबाटै श्रीलंकालाई दबाबमा राखेको थियो। अधिकांश समय श्रीलंकाको बक्समा बल राखेको नेपालले केही राम्रो अवसरसमेत गुमाएको थियो।
जितसँगै नेपालले आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ। यसअघि नेपाल पहिलो खेलमा आयोजक बंगलोदशसँग गोलरहित बराबरीमा रोकिएको थियो।
जितसँगै नेपाल दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ। आयोजक बंगलादेश समान चार अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो।
पराजित श्रीलंका भने एक खेलअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। उसले तीन खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन र १६ गोल व्यहाेरेको छ।
यता, एक खेलबाट ३ अंक जोडेको भारत तेस्रो स्थानमा रहँदा खेलबाट तीन अंक बनाएको भुटान चौथो स्थानमा छ। श्रीलंका भने पुछारमा छ।
अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्नेछ।