ए डिभिजन लिग पहिलो पटक मोफसलमा, मनाङ र पुलिसबीच प्रतिस्पर्धा

सहिद स्मारक राष्ट्रिय ‘ए’ डिभिजन लिग पहिलो पटक काठमाडौं बाहिर निस्किएको छ। यो सिजनको लिगअन्तर्गत केही खेलहरू पोखरा ल्याइएको हो।

मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई घरेलु मैदान मानेको छ। घरेलु मैदानमा मनाङले आज नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा हुनेछ। यसै वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालालाई मनाङको होम ग्राउन्ड स्वीकृति दिएको हो।

दुवै टिमका लागि पोखरा रंगशाला नौलो होइन। आहा रारा गोल्डकपमा यी दुई टिम धेरै पटक आमनेसामने भएका छन्। आठ पटकको प्रतिस्पर्धामा धेरै पटक पुलिसले जितेको छ।

चार पटकको फाईनल भिडन्तमा भने पुलिसलाई मनाङले तीन पटक पराजित गरेको छ। दुवै टिमले यही रंगशालामा ६-६ पटक आहा राराको उपाधि जितेका छन्।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङका लागि यो शनिबारको खेल निकै महत्वपूर्ण हुनेछ। किनकी घरेलु मैदानको स्वकृति पाएपछि यही खेल पहिलो हो, उसका लागि। प्रशिक्षक तामाङ ३ अंकका लागि आफूहरुले प्रतिस्पर्धा गर्ने बताउँछन्।

‘पहिलै खेलबाट ३ अंक जोड्छौं। हामी जित्नका लागि खेल्दैछौं,’ उनले भने, ‘तर पोखरा रंगशाला हाम्रा लागि भन्दा पुलिसका लागि सफल छ। नकआउट र लिग फरक हो। हामी जित्छौं, यसपालि।’

पुलिसका प्रशिक्षक अनन्त थापा पनि जित्नकै लागि पोखरा आएको बताउँछन्। ‘यो खेल जति मनाङको लागि महत्वपूर्ण छ, उति हाम्रा लागि पनि अत्यावश्यक छ। जित्नकै लागि हामी प्रतिस्पर्धा गर्छौं,’ उनले भने, ‘मनाङसँगको खेल सजिलो छैन। तै पनि राम्रो नतिजा निकाल्छौं।’ मनाङलाई घरेलु मैदानको फाइदा रहेको उनले बताए।

मनाङ तीन विदेशी खेलाडीसहित पुलिसविरुद्धको प्रतिस्पर्धामा होमिएको छ। अहिले मनाङ १० अंकसहित दोस्रो स्थानमा छ। लिग तालिकाको शीर्षस्थानमा उक्लन मनाङलाई शनिबारको खेल जित्नै पर्ने दबाब छ।

शुक्रबारको खेलमा संकटाले मच्छिन्द्रलाई बराबरीमा रोकेपछि मनाङले पुलिसलाई हराउँदै शीर्षमा उक्लने मौका पाएको हो। मनाङले यसपछि पुस १७ र २४ पुस पनि खेल्नेछ। मनाङ र पुलिसबीचको खेल हेर्न एक सय र तीन सयको टिकट शल्क ताेकिएकाे छ।

प्रकाशित मिति: : 2021-12-18 14:45:00

प्रतिकृया दिनुहोस्