नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
मनाङले शनिबार पोखरा रंगशालामा पुलिसलाई ३-१ गोल अन्तरले पाखा लगाएकाे हाे । मनाङको जीतमा अन्जन विष्टले दुई गोल गर्दा निशान लिम्बुले एक गाेल थपे।
पुलिसका सुमन लामाले पेनाल्टी सुट आउटमा सान्त्वना गोल फर्काए। जितेसँगै मनाङले १३ अंक बटुलेकाे छ। मनाङले पोखरालाई होम ग्राउण्डको रुपमा छनोट गरेसँगै एन्फाले पहिलो पटक पोखरामा लिग सञ्चालन गरेको हो।
जारी लिगका थप दुई खेल पोखरामा हुनेछन्। गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ। गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङ मनाङ मर्स्याङ्दीका सल्लाहकार हुन्।
पोखराको खेल हेर्न १ सय र ३ सयको टिकट व्यवस्था गरिएको छ। यहाँबाट हुने आम्दानी सबै मनाङको हुनेछ भने व्यवस्थापन पनि मनाङले नै गर्नेछ। योसँगै एएफसी कप छनोटमा मनाङको सम्भावना पनि बलियो भएको छ। एन्फा उपाध्यक्ष कृष्ण थापाले ए डिभिजन लिगका सबै खेल पोखराले खेलाउन सक्ने बताए।
‘अहिले पहिलो अभ्यास भएको छ। अब आगामी लिगका सबै खेल पोखरामा खेलाउन सकिन्छ,’ उनले भने, ‘हामीसँग पर्याप्त संरचना छ। व्यवस्थापन राम्रो छ।’
यो जीतसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना पनि बलियो बनेको छ। सातवटा खेल खेलिसक्दा शीर्ष स्थानमा रहेको क्लवले एएफसी छनोट खेल्न पाउने छ।