झापाली राजनीतिको पुरानो रोग: सिटौला भर्सेस विश्वप्रकाश

File Photo
File Photo

'अरुका विरुद्ध लड्न सहज होला। तर आफ्ना विरुद्ध कठिन।'

यो भनाईलाई यसै चर्चा गर्ने हो भने माथिको शीर्षकलाई पुष्टि गर्न धेरै शब्द खर्च गरिरहनु पर्दैन।

भर्खरै सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशनमा महाभिडन्त गरेर आफ्नो शक्ति प्रदर्शन गर्न पहिलो पटक झापा आएका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्मालाई पहिलो गासमै ढुङा लागेको छ। 

शर्माकै राजनीतिक गुरू कृष्णप्रसाद सिटौलालाई ढोग गरेको तस्विर सार्वजनिक गरेर सिटौलाका अनुयायीहरूको मन पगाल्न खोजेपनि शर्माको यसपटक त्यो अभिस्ट पूरा हुन नसकेको दृश्य देखियो। आफ्नो कर्मभुमीमा युद्ध जितेर आएझै गरेर शर्माले जसरी झापाको माटो ढोगेर यात्रा आरम्भ गरेका थिए। त्यसको ठिक विपरीत दृश्य उनको कार्यक्रममा देखियो। 

दुःखद कुरा। उनैले आयोजना गरेको कार्यक्रममा नेपाली राजनीतिका चलाख–पात्र सिटौला पक्षका कोही पनि नेता–कार्यकर्ता कार्यक्रममा देखा परेनन्।

भर्खरै भएको जिल्ला अधिवेशनमा झापामा विश्व प्रकाश शर्माका उमेदवारहरू पराजित हुनु र प्रदेशमा पनि सिटौला कै उमेदवारले जित्नुको पीडा यसै थियो। तर उनले महामन्त्री जितेर नसोचेको परिणाम प्राप्त गरेपछि त्यो पक्ष हौसिनु स्वाभाविकै हो। 

यद्यपि राजनीतिमा जितको सीमा हुँदैन। जितेर कोही पनि सत्तामा आजीवन बसिरहन सक्दैन। तिनै विश्व प्रकाश शर्मा हुन्– जसले प्रदेश सभापति जितेका उद्धव थापासँग जिल्ला सभापतिमा हारेका थिए। उनै विश्वले गत आम निर्वाचनमा चुनाव हारे। हुन त कृष्ण सिटौलाले पनि संसदको चुनाव हारेका हुन्। तर दुवै नेता परस्परमा न कहिल्यै मिले न कहिल्यै अलग रहन सके। 

एक जना पुराना काङ्ग्रेस नेता भन्छन्, दुवै नेताको सम्बन्ध 'टम एन्ड जेरी'को जस्तो छ। 

उनको भनाईलाई आधार मान्ने हो भने पछिल्लो घट्नाक्रमले त्यो सम्बन्ध अझ बिग्रने देखिन्छ। किनभने सिटौला पक्षलाई जिल्लामा विश्व प्रकाशका उमेदवार हराएकोमा अलिकति घमण्ड पनि छ। र, विश्व पक्षलाई ग्लानी। 

तै–पनि शर्मालाई स्वागत गर्न गएकाहरुले जिल्ला र प्रदेशमा हारको पीडा भुल्न खोजे। उनलाई भब्य स्वागत पनि गरियो। तर सिटौला भर्सेस विश्व प्रकाश बीचको स्थायी गुटको श्रीङ्खला फेरि दोहोरियो। न विश्व प्रकाश पक्षले जितको खुशी मनाउन सक्यो न सिटौलाका मान्छेहरूले। 

फेरि पनि मूल शीर्षक तिरै फर्केर हेरौ– लामो समयदेखि भुसको आगो सरि सल्केर रहेको झापा काङ्ग्रेसको रोग, सिटौला भर्सेस विश्व प्रकाशको नाममा कतिन्जेल बल्झिरहने हो ? त्यो आगोको फिलिङ्गोमा परेर कति कार्यकर्ता पिल्सिने हुन् ? 

यो प्रश्नको उत्तर सायद समयले देला।

अरुका विरुद्ध लड्न सजिलो होला तर आफ्ना विरुद्ध गाह्रो हुने तथ्यलाई गलत साबित गर्न भने त्यति सहज देखिँदैन।

प्रकाशित मिति: : 2021-12-22 21:56:00

प्रतिकृया दिनुहोस्