खेलाडी-क्यान विवादमा सहमति जुटाउने प्रयास

पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको विवादमा सहमति जुटाउने प्रयास थालिएको छ।

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक) बाट बाहिर राख्ने र कप्तान, उपकप्तानलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। २९ मंसिरमा बसेको बोर्ड बैठकले सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको थियो।

तर, पछिल्लो समय राजनीतिक चासो र चौतर्फी दबाबपछि खेलाडी र क्यान दुबैले सहमति जुटाउने प्रयास गरेका हुन्। केही समूहले क्यानको चर्काे विरोध गरेका छन् भने केही समूहले खेलाडीले क्यानको कारबाही स्वीकार गर्नुपर्ने धारणा राख्दै आएका छन्। 

चार खेलाडीले मंगलबार क्यान केन्द्रीय समस्य दुर्गानाथ पाठकसँग भेट गरेका थिए। पाठकले क्यानको तर्फबाट वार्ता गरेका थिए भने खेलाडीले पछिल्लो कारवाही स्थगित गर्नुपर्ने अडान लिएका थिए।

‘पत्रकार सम्मेलन गरेर केही कुरा राखेपछि अभिभावकको नाताले हाम्रो केन्द्रीय सदस्य दुर्गाराज पाठकजीलाई खेलाडीसँग गएर वार्ता गर्नुस् भनेर पठाएका थियौं। खेलाडीसँग उहाँ बस्नुभयो। खेलाडीको कुरा सुन्नुभयो,’ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने। 

उनकाअनुसार पाठकले आगामी ग्लोबल छनोटमा कसरी खेल्ने र टिम कसरी एकजुट हुने भन्ने विषयमा केन्द्रीत रहेर कुरा गरेका थिए। ‘हाम्रो काम भनेको ग्लोबल छनोटमा टिम एकजुट होस् र राम्रो प्रदर्शन होस् भन्ने हो। सम्झौता भएको केही हैन। पुरस्कृत गर्ने र कारबाही गर्ने दुबै काम क्यानको हो,’ उनले भने। 

यसअघि क्यानका ६ बोर्ड सदस्यले खेलाडीको कारवाही नियोजित पारामा भएको, नेतृत्वले आफ्नै  स्वेच्छाचारी ढंगले क्यान चलाएको, बोर्ड सदस्यको असहमतिका बाबजुद कारबाही गरिएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। बुधबारमात्रै ६ बोर्ड सदस्यले पत्रकार सम्मेनल गर्दै खेलाडीमाथि भएको कारबाही फिर्ता लिनुपर्ने माग राखेका थिए।

क्यानकाविरुद्ध सार्वजनिक माग गर्नेमा केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जयराज सिंह र राखेप प्रतिनिधि तथा केन्द्रीय सदस्य छुम्बी लामा रहेका छन्।

सचिव मल्लले खेलाडीले जसरी कुरा बढाउँछन् त्यसरी नै आफूहरु बढ्ने र खेलाडी तयार भएको खण्डमा आफूहरु वार्ताको लागि तयार भएको बताए। ‘अहिले त्यस्तो केही कुरा छैन। खेलाडीले कुरा के गर्छन्। हामी अभिभावकको नाताले बस्छौं। आचारसंहिता उल्लंघन भएकै हो। त्यसमा दुई मत भएन। जसरी कुरा अगाडि बढ्छ। क्यान त्यसरी नै अगाडि बढ्छ। हाम्रो काम भनेको वातावरण राम्रो होस्। एकजुट हुँ भन्ने नै हो,’ उनले भने।

यता, निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ललेसमेत बोर्ड सदस्यसँग वार्ता भएको र यसको आधिकारिक निर्णय समयमा आउने बताए। ‘वार्ताको कुरा उहाँहरुले नै बताउनु हुन्छ। आधिकारिक आएपछि राख्नुहुन्छ,’ उनले भने।

प्रकाशित मिति: : 2021-12-23 13:47:00

प्रतिकृया दिनुहोस्