कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल उद्घाटन

File Photo
File Photo

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा निर्माण गरेको चन्द्रागिरी साहसिक साइकल ट्रेलको बिहीबार उद्घाटन भएको छ।

कीर्तिपुर नगरपालिका–४ र चन्द्रागिरी नगरपालिका–६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त ट्रेल बोसन डाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको बेस स्टेसनसम्म पुगेर टुंगिन्छ। करिब १५ किलोमिटर लम्बाइको साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजनकुमार केसीले उद्घाटन गरेका हुन्।

कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए। उनले नेपालमा पर्यटनका लागि अथाह सम्भावना र सम्पदा रहेको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि पर्यटनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न र पर्यटन पुनरुत्थानका लागि बोर्डले  निरन्तर पहल गरिरहेको जानकारी दिँदै यो परियोजनाबाट बनेका संरचनाहरूको दिगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह सक्रिय रहनुपर्ने बताए।

उपाध्यक्ष रिजालले सीमित स्रोतसाधनका बाबजुद पनि बोर्डले पर्यटन पुनरुत्थानका लागि काम गरिरहेको जानकारी दिए। यस्तै युएनडिपीका नेपालस्थित आवासीय उपप्रतिनिधि बर्नाडो कोकोले यस परियोजनाले थोरै भए पनि अल्पकालीन रोजगारी सिर्जनामा सहयोग गरेको उल्लेख गर्दै नेपालको दिगो पर्यटन विकासमा युएनडिपीको सधैं सहयोग रहने बताए।

यस्तै युएनडिपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले पर्यटन बोर्डसँगको सहकार्यबाट सञ्चालित परियोजनाको काम सन्तोषजनक रहेको बताउँदै कोभिड संक्रमणले पर्यटन मजदुर बेरोजगार बनेको समयमा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भए पनि राहतको काम गरेको बताए।

चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास तथा धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिएको बताउँदै  यो परियोजनामार्फत निर्माण भएका संरचनाहरूको संरक्षण र दिगो सञ्चालनमा सधैं ध्यान दिइने बताए।

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले अहिले भइरहेका गतिविधिले पर्यटनलाई चलायमान बनाउन सहयोग पुगेको उल्लेख गर्दै परियोजनाबाट बनेका संरचनाको अपनत्व ग्रहण गर्दै यसको दिगो सञ्चालनका लागि नगरपालिका प्रतिबद्ध रहेको जनाए।

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुवेदीले यो परियोजना कार्यान्वयनका लागि टानले सक्रिय सहभागिता जनाएको बताउँदै यस्ता गन्तव्यको विकासले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदुरका लागि थोरै भए पनि राहत प्रदान गर्ने बताउँदै नाटाले यसको व्यावहारिक कार्यान्वयनमा जोड दिएर काम गरिरहको बताए।

पर्यटन बोर्डका निर्देशक तथा एसटिएल आरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (र्‍याफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिएको र यसबाट पर्यटकीय सम्पदाको नवनिर्माण र पुनर्निर्माणमा सहयोग पुगेको जानकारी दिए।

परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलरबराबरको रकम खर्च गरिनेछ। विशेषगरी पर्यटन क्षेत्रका करिब ६ हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्‍याइने परियोजनाको लक्ष्य छ। यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ।

प्रकाशित मिति: : 2021-12-24 10:07:00

प्रतिकृया दिनुहोस्