'बचपन का प्यार मेरा भूल नहीं जाना रे' गाएर चर्चित बनेका भारतको छत्तीसगढका सहदेव दिर्डो सोमबार साँझ सडक दुर्घटनामा परी घाइते भएका छन्।
गम्भीर घाइते भएका उनलाई सुक्मा जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरेर जगदलपुर रिफर गरिएको सरकारी अधिकारीहरूले बताएका छन्।
बाल कलाकार सहदेव मंगलबार परिवारका दुई सदस्यसँग मोटरसाइकलमा सुक्मा जिल्ला सदरमुकाम जाँदै गर्दा दुर्घटनामा परेका हुन्। उनी मोटरसाइकल अनियन्त्रित भइ घाइते भएको परिवारका एक सदस्यले बताएका छन्।
दुर्घटनामा परेका सहदेवको टाउकोमा गम्भिर चोट लागेको छ।
घटनाकाे खबर पाएलगत्तै सुक्मा जिल्ला प्रहरी उपरीक्षकले उनको उपचार–व्यवस्था गरेका थिए। सहदेवको टाउकोमा लागेको चोट गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्। लगत्तै, उनलाई जगदलपुर जिल्ला सदरमुकामस्थित अस्पतालमा रिफर गरिएको छ।
सहदेव यसैवर्ष सामाजिक सञ्जालमार्फत् चर्चामा आए बाल कलाकार हुन्।
सन् २०१९ मा एक शिक्षकले रेकर्ड गरेको भिडियो पछिल्लोपटक फेसबूकमा राखेपछि उनले गाएको 'बचपन का प्यार मेरा भूल नहीं जाना रे' खूब् भाइरल बन्यो। सहदेवले गाएकाे गीत सामाजिक सञ्जालमा एकाएक फैलिएपछि चर्चित र्यापर बादशाहसँगै सहकार्य गर्ने अवसर पाएका थिए।