कहिले चल्छ रेल ?

अन्नपूर्ण पोष्ट

गोविन्द महतो

भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने कुरा विगत ३ वर्ष अघिदेखिको हो। तर, अहिलेसम्म रेल नचल्दा यस क्षेत्रका स्थानीयको रेल चढ्ने आशा निराशामा परिणत भएको छ। ‘उमेरले अब साथ दिन छोड्यो, मोटरसाइकलमा आउँदाजाँदा समस्या हुन्छ। रेल चढेर जानकी मन्दिर दर्शन गर्ने इच्छा छ तर रहर पूरा हुने छाँटकाँट छैन,’ जनकनन्दनी गाउँपालिकाकी ८० वर्षीया जोगनी दासले भनिन्, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष जति हुन लाग्यो।’ 

सोही गाउँपालिकाकै ८० वर्षीय मो. हामिद साफीको पनि रेल चलेको हेर्ने मन छ। उनले भने, ‘रेल चलाउने कुरा सुनेको सुन्यै छु। तर, खै कहिले आउँछ रेल ?’ त्यस्तै, रेल नचल्दा निराश बनेकी जनकनन्दनी गाउँपालिका–४ खजूरीकी सूर्यकलादेवी कामतीले रेल चल्ने कुरा गफै मात्र भएको बताइन्। उनले भनिन्, ‘रेल त आयो तर एक दिनपनि चलेन। कहिले चल्छ ठेगान छैन। रेल आउँने र चल्ने कुरा त फगत गफ मात्रै भयो।’ 

सरकारको स्वामित्व भएको रेल तामझामका साथ गत वर्षको असोज ३ मा भित्र्याइयो। भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइयो। पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा खुसीको सीमा थिएन। धेरैलाई लागेको थियो, अब रेल चल्छ। सर्वसाधारणले सरकारको धेरै प्रशंसा पनि गरे। तर, लामो समयसम्म पनि रेल चल्न नसकेपछि यहाँका सर्वसाधारणदेखि व्यापारीसम्म निराश छन्। निक्कै उत्साह र धुमधामका साथ हर्न बजाएर भित्र्याइएको रेल झण्डै १५ महिनादेखि पालमुनि थन्किएपछि स्थानीय निराश भएका हुन्।  

प्रकाशित मिति: : 2021-12-30 09:36:00

प्रतिकृया दिनुहोस्