दाङमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता शुरू भएको छ।
दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो।
नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो।
प्रतियोगिताको लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले उद्घाटन गरे। उद्घाटनमा मन्त्री हमालले खेलखुदले आपसी मेलमिलापको सन्देश दिने बताए।
कोरोना महामारीका कारण थला परेको अवस्थामा खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको उनको भनाई छ।
टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताए। उनले कारोनाले खेल गतिविधि कम हुँदै गएको अवस्थामा अहिलेको प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने बताए।
प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता छ। पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा मेन्स टीम र बुमेन्स टिमको प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार , तृतीय पुरस्कार ५/५ हजार र सान्तोना पनि ५/५ हजार रहेको छ।
यस्तै मेन्स र बुमेन्स सिंगलतर्फ नगद ४०/४० हजार , द्वितीय पुरस्कार २०/२० हजार, तृतीय र सान्तोना पुरस्कार ५/५ हजार रहेको आयोजकले जनाएको छ।
यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार र तृतीय र सान्तोना नगद ५/५ हजार पुरस्कार राशी रहेको छ। प्रतियोगिता आइतबार १८ गतेसम्म संचालन हुने आयोजकले जानकारी दिएको छ।