जनसेवा सामुदायिक अस्पताल जालपामा डिजिटल एक्स–रे सेवा

Symbolic photo
Symbolic photo

जनसेवा सामुदायिक अस्पताल जालपामा डिजिटल एक्स–रे सेवा सुरु भएको छ। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयवासीले विसं २०६९ मा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७/८८ मा विनियोजित रु १५ लाखमा डिजिटल एक्स–रे जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए।

'हामीले सरल र सहज मूल्यमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छौँ', उनले भने, 'डिजिटल मेसिन जडान गरिएपछि पुरानो मोडेलको मेसिनबाट एक्स–रे सेवा दिनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ।'

अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान, तार खरिद र सपोर्टिङ उपकरण खरिदमा थप रु पाँच लाख बढी खर्च भएको जनाइएको छ।

डिजिटल एक्स–रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदका लागि बजेट माग गर्दा डिजिटल एक्स–रे मेसिनमात्र प्राप्त भएको अस्पतालले जनाएको छ।

यसअघि सानो क्षमताको एक्स–रे मेसिनमार्फत सेवा प्रवाह हुँदै आएको अस्पतालमा डिजिटल एक्स–रे मेसिनले सेवा दिन थालेपछि उत्तरी क्षेत्रका सेवाग्राहीलाई सहज भएको वडाध्यक्ष विकास राईले बताए। 

'अस्पतालमा डिजिटल मेसिन नहुँदा एक्स–रे गर्न दिक्तेल तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो', उनले भने, 'अहिले अस्पतालमै आधुनिक प्रविधिको डिजिटल एक्स–रे मेसिन जडान गरेर सेवा दिन थालेपछि उत्तरी क्षेत्रका सेवाग्राहीलाई सहज भएको छ।'

जनसेवा समाज नेपाल जालपामार्फत जालपाका स्थानीयवासीको पहलमा जिल्लामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक अस्पतालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र सावाबेँसी गाउँपालिकाका २४ वडाका स्थानीय लाभान्वित भएका छन्। सामुदायिक अस्पतालमा विभिन्न विशेषज्ञ सेवासहित दन्त सेवासमेत उपलब्ध रहेको जनाइएको छ। 
 

प्रकाशित मिति: : 2022-01-08 21:41:00

प्रतिकृया दिनुहोस्