पूर्वविद्यार्थीद्वारा अरनिको माविमा लत्ताकपडा र शैक्षिक सामाग्री वितरण 

मोरङको उर्लाबारी-८ स्थित अरनिको माविका पूर्वविद्यार्थीहरुले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेका छन्।

चिसो बढेसँगै आर्थिक रुपमा विपन्न परिवारका जेहेन्दार ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्।

चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको पूर्वविद्यार्थी रवि मादेनले बताए।

जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने पूर्वविद्यार्थी रन्जु भण्डारीले बताइन्।

भण्डारीले भनिन्, 'जाडोका कारण यहाँका विद्यार्थी प्रभावित छन्, जसका कारण पठनपाठनमा धेरै समस्या देख्यौँ, यसको समाधानका लागि न्यानो कपडा वितरण गरेका हौं।'

देश विदेशमा रहेका पूर्वविद्यार्थी तथा ब्याच ०५५/५६ ले आफ्नो पूर्वविद्यालय र बाल्यकालको स्मरण गर्दै केही सामाजिक सेवा गरौँ भन्ने उदेश्यले १ लाख १२ हजार रकम सङ्कलन गरी उक्त रकम बराबरको न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएकाे पूर्वविद्यार्थी तिलक अधिकारीले बताए।

उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिने बताए।

पूर्व विद्यार्थी पूर्ण सिंघकले पूर्व विद्यार्थी र विद्यालय परिवार हातेमालो गर्दै अघि बढ्ने बताए। उनले भने,आफ्ना पूर्व विद्यार्थीहरु बिभिन्न उच्च ओदाहामा पुगेको छन्, सहयोगको लागि विद्यालयले पनि खोजी गर्न आवश्यक छ।

सो कार्यक्रम सम्पन्न गर्न हिक्मत बिस्ट, रवि मादेन,मुना खड्का, जमुना ओझा, शिला वनेम, तिलक अधिकारी, रुद्र श्रेष्ठ, बिनोद खनाल, दुर्गा मगर, सरिता ओझा, सोना श्रेष्ठ, शान्तिराम पाङमा, शोभा श्रेष्ठ बिष्णु दाहाल, पूर्ण सिंघक, रन्जु भन्डारी, सरिता सिटौला , पवित्र वर्देवा र मन्जु गुरुङले सहयोग गरेका थिए।

कार्यक्रममा बोल्दै शिक्षक इन्द्र न्यौपानेले यस्ता सहयोगले  विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण तयार हुने बताए। 'विपन्न परिवारका धेरै विद्यार्थी अझै पनि जाडोका कारण विद्यालयमा आउन छाडेको अवस्था छ', शिक्षक न्यौपानले भने, 'पूर्व विद्यार्थीहरुको सहयोगले विद्यालय सञ्चालनमा ठूलो मदत पुगेको छ।'

सामाजिक अभियन्ता रन्जु भन्डारी बरालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बिनोद खनाल गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यमान सिरेङले यस किसिमको सहयोगले विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा सकारात्मक संदेश जानुको साथै हौसला प्रदान हुने बताए।

उनले भने, 'हाम्रा पूर्वविद्यार्थीहरु संसारको जुनसुकै कुनामा, जुनसुकै ठाँउमा पुगेपनि आफ्नो विद्यालयलाई सम्झिएकोमा धेरै खुशी लागेको छ। म उहाँहरुलाई धन्यवाद तथा आभार प्रकट गर्दछु।'

प्रकाशित मिति: : 2022-01-09 13:01:00

प्रतिकृया दिनुहोस्