चौथो एसेसमा इंग्ल्याण्डको रोमाञ्चक बराबरी

File Photo
File Photo

अन्तिम दिन अष्ट्रेलियाले एक विकेट लिन नसक्दा एसेस शृंखलाअन्तर्गत इंग्ल्याण्डविरुद्धको चोथो टेष्ट बराबरीमा टुंग्याएको छ।

सिड्नीमा ३८८ रनको विजयी लक्ष्य पाएको भ्रमण टोली इंग्ल्याण्डले दिनको समाप्तिमा नौ विकेट गुमाउँदै २७० रन बनाएसँगै खेल बराबरीमा सकिएको हो।

स्टुआर्ट ब्रोअड र जेम्स एन्डर्सनले धैर्यतासाथ खेलेपछि अष्ट्रेलियाले शृंखला ४-० को बनाउने मौका गुमायो। यद्यपि, पाँच टेष्ट शृंखला घरेलु टोली अष्ट्रेलियाले ३-० ले आफ्नो नियन्त्रणमा लिइसकेको छ।

अन्तिम दिन इंग्ल्याण्डका ज्याक क्राओलीले ७७ रन बनाउँदा बेन स्टोक्सले ६० रन बनाए। अष्ट्रेलियाका स्कट बोलान्डले सर्वाधिक तीन विकेट लिए।

यसअघि ब्याटर उसमान खवाजाले शतकीय इनिङ्ससहित १३७ रन बनाएपछि आठ विकेट गुमाउँदै ४१६ रन बनाएको अष्ट्रेलियाले पहिलो इनिङ्स समाप्ति घोषणा गरेको थियो। इंग्ल्याण्डका स्टुआर्ड ब्रोअडले सर्वाधिक पाँच विकेट लिएका थिए।

जोनी बेयरस्टोले शतकीय इनिङ्स खेले पनि इंग्ल्याण्ड २९४ रनमा अल आउट भयो। अष्ट्रेलियाको स्कट बोलान्डले चार विकेट लिए।

दोस्रो इनिङ्समा समेत खवाजाले १०१ रन बनाएपछि अष्ट्रेलियाले पुनः ६ विकेटको क्षतिमा २६५ रन बनाउँदै इनिङ्स छाड्यो।

यसपछि ३८८ रनको विजयी लक्ष्य पाएको इंग्ल्याण्ड अन्तिम दिनसम्म ब्याटिङका उत्कृष्ट प्रदर्शन गर्दै खेल बराबरी गर्न सफल भयो।

प्रकाशित मिति: : 2022-01-09 15:55:00

प्रतिकृया दिनुहोस्