ह्यारी भण्डारीलाई जिताउन न्युयोर्क-न्युजर्सीका नेपालीको प्रतिवद्धता

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाका पहिलो नेपाली डेलिगेट डा. ह्यारी भण्डारीले दिएको दोस्रो कार्यकालको उम्मेद्वारीको समर्थनमा अमेरिकाका विभिन्न राज्यका अगुवा नेपालीहरू उत्साहका साथ जुटेका छन्। उनलाई विजयी बनाउने विभिन्न राज्यका नेपाली संघसंस्थाका अगुवाहरूले भर्चुअल इभेन्ट आयोजना गरेर विचार विमर्श सुरू गरेका छन्।

यसै क्रममा आइतबार न्युयोर्क र न्युजर्सीका नेपाली संघसंस्थाका अगुवाहरूले एक भर्चुअल फण्ड राइजिङ इभेन्ट आयोजना गरे। एनआरएनए अमेरिकाको न्युयोर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पा र न्युजर्सी च्याप्टर अध्यक्ष सूर्य तिवारीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा न्युयोर्क र न्युजर्सी क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संघसंस्थाका अगुवाहरूको सहभागिता थियो।  

कार्यक्रमलाई सम्बोधन गर्दै डेलिगेट डा. भण्डारीले आफूले पहिलो कार्यकालमा गरेका कार्यहरूको बारेमा प्रकाश पार्दै अधुरा काम पूरा गर्न र थप नयाँ कामहरू गर्नका लागि दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएको बताए । न्युयोर्कको नेपाली समाजमाथि कोरोना कहर बज्रिदा आफूले पनि समान पीडा महसुस गेरेको बताउँदै डेलिगेट डा. भण्डारीले भने, ‘दु:खको त्यो क्षणमा आफ्नो समुदायलाई मल्हम लगाएर न्युयोर्कको नेपाली समाजले पहिलो कार्यकालका लागि आफूलाई विजयी बनाउँन गरेको सहयोगको थोरै भए पनि गुन तिर्न सकें।‘ उनले न्युयोर्क, न्युजर्सी, लङ आइल्याण्ड जहाँका नेपाली भए पनि दु:ख पर्दा सम्झन अनुरोध गरे।

अमेरिकामा रहेका नेपाली देखिनुपर्छ, उनीहरूको समानुपातिक प्रतिनिधित्व राज्यका हरेक तहमा हुनुपर्छ भन्दै डेलिगेट भण्डारीले भने, ‘आफ्नो अभियान त्यसैका लागि हो । चुनाव त त्यसको एक अंश मात्र हो। यसले सबै नेपालीलाई सहकार्य गर्ने अवसर दिन्छ।‘  

सहभागीहरूले डेलिगेट डा. भण्डारीले अमेरिकामा नेपालीको गौरव बढाएको भन्दै उनलाई हरतरहले सहयोग गर्ने र सम्पूर्ण नेपाली समुदायलाई नै त्यसका लागि अभिप्रेरित गर्ने बताए। सहभागीमध्ये धेरैले कोरोना कहरका बेला डा. भण्डारीले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै त्यतिबेलाका कहालीलाग्दा क्षणहरूको सम्झना गरे।  

अमेरिकामा रहेका नेपाली देखिनुपर्छ, उनीहरूको समानुपातिक प्रतिनिधित्व राज्यका हरेक तहमा हुनुपर्छ ।आफ्नो अभियान त्यसैका लागि हो । चुनाव त त्यसको एक अंश मात्र हो। यसले सबै नेपालीलाई सहकार्य गर्ने अवसर दिन्छ।

-डेलिगेट डा. ह्यारी भण्डारी 

कार्यक्रममा एनआरएनका क्षेत्रीय संयोजक समर बुढाथोकी, पूर्व उपाध्यक्ष बीआर लामा, एनआरएनका बोर्ड अफ डाइरेक्टरद्व्य विश्वराज बास्तोला र दुर्गेश कार्की, फिप्नाका अध्यक्ष राजकुमार विष्ट, फिप्नाका वरिष्ठ उपाध्यक्ष मिङ्मा शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष आङजाबु शेर्पा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन लिम्बू, एनआरएनए न्युयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डे, सचिव दण्डपानी लामिछाने,  सह-सचिव बाबु राजा सिन्हा, बोर्डअफ डाइरेक्टर देबेन्द्र लामा, छिरिङ शेर्पा, महिला संयोजक लक्ष्मी थापा सहभागी हुनुहुन्थ्यो।

डेलिगेट डा.भण्डारीको संयोजनमा नेपाल पठाइएको शवन्युजर्सीका अगुवा सामाजिक अभियन्ता बेगम पण्डितले सञ्चालन गर्नुभएको कार्यक्रममा न्युजर्सीबाट सञ्जीव श्रेष्ठ, कृष्ण आचार्य, सूर्यमोहन तिवारी, कविना महर्जन, भक्त गुरूङ, सन्दीप सापकोटा, लङ् आइल्याण्डका बाबुराम शर्मा, न्युयोर्कका दिनेश भण्डारी, कृष्णराज सुवेदीलगायतका नेपाली समुदायका अगुवाहरूको सहभागिता थियो ।  

डा. भण्डारी मेरोल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ का वर्तमान डेलिगेट हुन् र उनी दोस्रो कार्यकालका लागि यही डिस्ट्रिक्टबाट उम्मेद्वार रहेका छन्। डेमोक्रेटिक पार्टीका डेलिगेट भण्डारीले पार्टीको तर्फबाट उम्मेद्वारी जित्न आगामी जुन २६ मा हुने प्राइमरी भनिने अन्तरपार्टी चुनाव जित्नुपर्छ। यसमा विजयी भए मात्र नोभेम्बर ८ मा हुने चुनावमा उनको रिपब्लिकन पार्टीका उम्मेद्वारसँग प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: : 2022-01-10 18:00:00

प्रतिकृया दिनुहोस्