एमाले प्युठानको अध्यक्षमा विष्ट निर्वाचित

 नेकपा एमाले प्युठानको नवौँ अधिवेशनबाट अध्यक्षमा विराज विष्ट निर्वाचित भएका छन्। 

सोमबार दिउँसो आएको परिणामअनुसार खसेको कुल ५१० मतमध्ये विष्टले ३ सय १४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन। उनी एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत हुन्।

उनका प्रतिद्वन्द्वी नेहरसिंह केसीले १७६ मत मात्र ल्याए। उपाध्यक्षमा सरुमारानी गाउँपालिकाका अध्यक्षसमेत रहेका झगबहादुर विश्वकर्माले २ सय ९५ मत ल्याउँदै विजयी हुँदा प्रतिद्वन्द्वी मुक्ती पोख्रेलले १ सय ७९ मत प्राप्त गरे।

सचिवमा नेगनसिंह कुवरलाई पराजित गर्दै माधब शर्मा विजयी भएका छन्। शर्माले २ सय ७२ मत ल्याउँदा कुंवरले १ सय ८६ मत ल्याए।  उपसचिवमा माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले ३ सय ७२ र दिपा घर्तीले ३ सय ८४ मतका साथ विजयी भए। उप–सचिवका अर्का प्रत्याशी बिनोद ओलीले १ सय ७१ मत ल्याए। 

त्यसैगरी खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २७९ र पुर्खसिंह सुनारले १७६ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी गिरबहादुर सुनारले जम्मा ९२ मत पाए। जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि शनिबार मतदान भएको थियो। 

अन्य पद सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत नेत्रबहादुर रोका क्षेत्रीले जानकारी दिए। एमाले जिल्ला कमिटी ९० सदस्यीय बनेको छ।

प्रकाशित मिति: : 2022-01-10 16:30:00

प्रतिकृया दिनुहोस्