गुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना 

गुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएपछि कृषकसँगै सरोकारवाला खुसी भएका छन्। केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेशमा कृषि र कृषकका थुप्र्रै आशा र गुनासा भए पनि क्रमैसँग पूरा हुँदै गएको बताइन्।

‘समस्या मात्र देखाएर समाधान हुँदैन। सन्तुष्टि र विकल्पहरूको पनि खोजी गरौ,’ उनले भनिन्, ‘प्रदेश सरकारले योजनावद्ध रुपमा सवै काम गर्छ।’

जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले विज्ञ केन्द्र, प्रविधि र कार्यक्रमसहितको बनाउन प्रदेश सरकारलाई आग्रह गरे। रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले निकै मेहेनत गरेर ल्याएको कार्यालय स्रोत साधनको हिसाबले उपयोगहिन बने निकै दुर्भाग्य हुने बताए। 

लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यावस्था मन्त्रालय पशुपन्छी महाशाखाका प्रमुख तुल्सी भण्डारीले लामो कसरतपछि कार्यालय जिल्ला(जिल्लाहरूमा फर्काएपनि सोचे अनुसारको कर्मचारी पूरा गर्न नसकिएको बताए। उनले कामसँगै अभावहरू परिपूर्ति हुँदै जाने भएकाले जनशक्ति व्यवस्थापनमा आफूहरू कस्सिएर लागेको बताए। 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सबै तहका प्राविधीकहरूबिच समन्वय भए कृषकलाई केही आशा जगाउन सकिने बताए। त्यसको लागि विज्ञ केन्द्रले स्थानीय तहका प्राविधिकहरूको क्षमता विकासमा काम गर्न पौडेलले सुझाव दिए।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भरत काफ्लेले पशु स्वास्थ्य र सेवा अन्तर्गत कृषकका क्षमता बिकास, प्रविधि, अनुदानसहित ल्याब व्यवस्थापन गरेर रोगको निदान र नियन्त्रणको उद्देश्य राखेर कार्यालय स्थापना भएको बताए। 

बाख्रा व्यावसायी नविन बस्नेतले बल्ल आफुहरूलाई सिंहदरवार गाउँ आएको अनुभुति भएको प्रतिक्रिया दिए। 

प्रकाशित मिति: : 2022-01-11 16:28:00

प्रतिकृया दिनुहोस्