स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले इल्चेसँग रोमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेको छ। आइतबार राति घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्दै रियलले इल्चेसँग एक–एक अङ्क बाँडेको हो।
सान्टियागो बर्नाबेउमा इल्चेले बनाएको दोब्बर अग्रता उल्टाउँदै रियलले बराबरी खेलेको हो। खेलकाे ३३औँ मिनेटमा रियलले पेनाल्टीको माैका पाएको थियो तर करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले अग्रता बनाउन सकेन।
खेलको ४२औँ मिनेटमा लुका बोयले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए। ७६औँ मिनेटमा पेरे मिलाले गोल गर्दै इल्चेको अग्रता दोब्बर बनाए।
८२औँ मिनेटमा रियलले पेनाल्टीको मौका पाएको थियो, जसमा लुका मोड्रिकले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे। खेलको इन्ज्युरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई २–२ गोलको बराबरीमा फर्काएका हुन्।बराबरीसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ५० अङ्क जोडेको छ। ऊ दोस्रो स्थानमा रहेको सेभियाभन्दा चार अङ्कले अगाडि छ। इल्चे भने २३ अङ्कका साथ १५औँ स्थानमा छ।