बिष खाएर मरे भनिएका राईलाई कुटपिट गरेको रगताम्य भिडियो बाहिरीयो

गत पुस १० गते घर नजिकैको खेतमा मृत अवस्थामा फेला परे, गौरादह– ८, ठकठकेका राजबहादुर राई (५८)।

मृतक राईको घर–परिवार र स्थानीयले अन्तयेष्टी गरे। मृत्युको कारण विष सेवन भनियो। काजकिरीया गर्न सिक्किमबाट छोरा भुपेन्द्र घर आए, काम सकेर पुनः कर्मथलो सिक्किम नै फर्किए।

बाबुको मृत्युले बिछिप्त भएका छोराले त्यो बेला  फेसबुक चलाएका थिएनन। म्यासेज पनि हेरेका थिएनन्। बाबुको काम सकेर कर्मथलाे फर्किएपछि जब उनले कसैले पठाएको म्यासेजकाे भिडियाे हेरे तब उनको होस् हवास् नै उड्यो। कारण, भिडियाेमा बुबालाई रगताम्य हुने गरी कुटिएकाे थियाे।

भिडियोमा एक महिलाले फलामे हातेले हानेको कुरा गर्दै मृतकको निधारमा रहेको घाउ सुम्सुम्याउँदै गरेकाे देखिन्छ। विष सेवन गरेर मृत्यु भयाे भनिएका आफ्नो बुवाको कुटपिटबाट चोटै–चोट र रगताम्य भएको अवस्थाको अन्तिम भिडियो, थियाे त्याे।

‘खेतमा भेटिदाँ हल्का चोट थियो, दाह्री पनि काटेर चटक्क बनाइएको रैछ। बिष खाएर मरेकै होईन, हामीलाई पहिलेदेखि नै हत्या हो भनेर शंका थियो। तर, प्रमाण थिएन तै चुप मै चुप थियौँ,’ स्थानीय समाजसेवी युवराज सेडाई भन्छन्,‘भिडियोबारे थप अनुसन्धान हुनुपर्छ। १० सेकेण्डको भिडियोले हत्या नै भएकाे हुन सक्ने प्रमाण जुटाएकाे छ। कुटपिट भएकै भाेलिपल्ट उहाँको शव फेला पर्नुले विष खाएर मरेको भनेर प्रशासन पन्छिन पाउँदैन्।’

मृतकका भाइ जगबहादुर राईले घटनाकाे सत्य तथ्य छानबिन हुनुपर्ने बताए। ‘दाइकाे घटनाबारे अनेकन शंका पैदा भएको छ,’ उनले भने, ‘भिडियाे हेर्दा मेराे दाइले विष खाएर मरेकाे हाेइन कुटेरै मारिएकाे जस्ताे लाग्छ।’ 

यता इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले भिसेरा रिपोर्ट आउँन बाँकी रहेको बताए। उनले छोराको साथीले बुवाआमाको झगडाको भिडियो पठाईदिएको र घटनालाई अतिरञ्जित बनाउन स्थानीयले विभिन्न टिकाटिप्पणी गरेकाे उल्लेख गरे। 

भिडियो खिचेको भाेलिपल्ट खेतमा राईको शव भेटिनु र भिसेरा रिपाेर्ट आउन महिनाैं लाग्नुले घटना थप रहस्यमय बन्दै गएको छ, जबकी भिडियाे बाहिर आएपछि मात्रै सेलाईसकेकाे याे घटना पुन: तातेकाे छ।

प्रकाशित मिति: : 2022-01-24 19:40:00

प्रतिकृया दिनुहोस्