सडकमै ढल्छन् मजदुरका ठेला

Breaknlinks
Breaknlinks

कभर फाेटाे देखेपछि के अनुमान गर्नुभयो? कुनै आन्दोलनका क्रममा ठेला पल्टियाे र फलफूल–तरकारी पाेखियाे? वा कुनै उछृङ्खल समूहले पल्टाइदिए हाेलान्? तर ठेलाहरूकाे बेग्लै कथा छ। अनेकाैं व्यथा लुकेको छ, तस्विरभित्र।

तुलसीपुर उपमहानगरपालिकाको मुख्य सडक घोराही चोक नजिकको दृष्य हो, यो। 

तुलसीपुर–घोराही सडकखण्डको बीच सडकमा एउटा खाडल देखिन्छ। खाडल देखिएको लामो समय भइसक्यो। खाडलमा परेर सवारी सधान वा मजदरका ठेला दुर्घटनामा पर्छन्। तर त्याे खाडलले सम्बन्धित निकायको ध्यानै खिच्दैन। 

प्रकाशित दृष्य शुक्रबार र शनिबार लगातार दुई दिनका हुन्। ठेला गुडाउँदै गर्दा पांङ्ग्रा खाडलमा परेपछि पल्टिदा ठेलामा भएका तरकारी–फलफूल सडकभरी यत्र–तत्र छरिएकाे देख्न सकिन्छ। यो त क्यामेरामा कैद गरिएकाे फाेटाे मात्रै हाे। तर दैनिकजाे हिँड्ने ठेला मजदुरका दुःख कति छन्, कति।

यसअघि पटकपटक यहिँ खाडलमा थ्रुपै बाइक दुर्घटनामा परे। ‘सडकको बीचमा खाडल छ। यस खाडलको तल खानेपानी छ कि नाला? थाहा छैन,’ स्थानीय विनोद आचार्यले भने, ‘त्यहिँ खाडलमा परी यो ठेला दुर्घटना शुक्रबार र शनिबार भएको हो। यसअघि पनि बाइक दुर्घटना भएको थियो।’

मजदुरले बजारको व्यस्त सडकमा ठेलासमेत सहज रुपमा गुडाउन सकेका छैनन्। त्यो अरू कारणले होइन, मात्रै सडकका खाल्डाले हाे। तलसीपुर बजारकाे अवस्था त यस्तो छ, जिल्लाका अन्य सडकको अवस्था कस्तो होला? तपाईलाई जरूर याे प्रश्नले लखेट्छ। 

खाल्डु–खुल्डीकै कारण नागरिकले वर्षाैदेखि अनेक सास्ती भाेगिरहेका छन्। अझ् भनाैं– मजदुर वर्ग। तुलसीपुर–घोराही सडकखण्डको कहालीलाग्दाे दृश्य छताछुल्ल नै छ। सडक हस्तान्त्रण गर्नुपर्ने समयमा निर्माण कार्य शुभारम्भ भएको छ।

सडक ६ लेन बनाउने नाममा छेउछाउ भत्काइएको छ। बीचको सडक पनि सहज यात्रा गर्न सकिने अवस्था मै छैन। ठाउँ–ठाउँमा खाडल परेका छन्। स्थानीयहरू सडककाे अवस्था देखेर दुःखी छन्। तर सम्बन्धित निकाय निकम्मा बनेकाे छ।

मुख्य सडकको दुर्दशा निकै बिग्रिएको छ। भित्रि सडकको पनि हालत उस्तै छ। तुलसीपुरदेखि पश्चिम (माथिल्लोबाटो) जाने सडकको बिजोग छ। केही ठाउँका खाल्डामा माटो भर्ने काम गरिएको छ। तर सबै ठाउँमा मर्मत गरिएको देखिँदैन। 

यस्तै, घोराहीदेखि लमही जाने सडक खण्डमा पनि सहज यात्रा गर्न सकिने अवस्था छैन। यस्तो अवस्था हुँदासमेत सडकमा परेका खाल्डा समेयमै पुर्ने काम नहुँदा नागरिक आक्रोशित छन्। ‘हामीले सरकारलाई उपमहानगरवासीका हैसियतले कर तिरेका छौँ। तर उपमहानगरको सामान्य सेवा पनि उपभोग गर्न पाइएको छैन,’ तुलसीपुर उपमहानगरका स्थानीय विनोद आचार्यले भने। 

उनलाई तुलसीपुरको मुख्य चोक वीपी चोकको खाडल देखेर अचम्म लागेको छ। ‘विपी चोकमा खाल्टाहरु परेको धेरै भयो तर मर्मत किन भएको छैन। म त अचम्म परेको छु,’ उनले भने, ‘बीच सडकमा ठेला, बाइक खाडलमा पर्छन। भत्किएका सडक पनि बन्दैनन्। कुन दिन कसको मृत्यु हुने हो र पुरिने हो।’ 

घोराही–तुलसीपुर सडकखण्डमा परेका खाल्टा समयमै मर्मत हुन सकेका छैनन्। केही ठाउँमा खाल्टा पुरेकाे जस्ताे देखिएपनि सहज रुपमा यात्रा गर्न सकिँदैन। जसले दैनिकजसाे सयौँ नागरिकलाई यात्रा गर्न कठीन भैरहेकाे छ।

प्रकाशित मिति: : 2022-01-26 19:45:00

प्रतिकृया दिनुहोस्