कीर्तिमानी ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई घरेलु मैदानमा पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २०औं आहा रारा गोल्डकपको उपाधि जित्यो। जुन उपाधि एपीएफले पोखरा रंगशालामा पहिलो पटक जितेको हो।
एपीएफले शनिबार आहा राराको उपाधि पहिलो पटक चुम्दा मनाङ भने घरेलु मैदानमा पहिलो हार ब्यहोर्न बाध्य भयो। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत घरेलु मैदानमा तीन खेल खेलेको मनाङले आहा रारामा पनि तीनै खेल खेल्यो। पाँच खेलमा लगातार जित निकालेको मनाङले घरेलु दर्शकमाझ छैटौं खेलमा भने अपराजित यात्रा कायम राख्न सकेन।
निर्धारित ९० मिनेट र त्यसपछिको समयमा २-२ गोलको बराबरी भएपछि मनाङ पेनाल्टी सुटआउटमा एपीएफसँग ५-४ ले पराजित भयो। मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि पहिलो उपाधिसहित कीर्तिमानी सातौँ पटक उपाधि चुम्नबाट बञ्चित भयो।
यता, जारी शीर्ष डिभिजनको लिगमा खराब प्रदर्शनसँगै रेलिगेसन जोनबाट बच्न संघर्ष गरिएको एपीएफले भने प्रतियोगितामा आफ्नो अपराजित यात्रा चौथो खेलसम्म राख्दै उपाधि नै जित्यो। उपाधि अघि उसले आयोजक सहारा एकेडेमीसहित अमेरिकाबाट खेल्न आएको भुटनीज युथ स्पोर्टस् क्लब, लिग लिडर मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्यो।
प्रतियोगिता जित्दा एपीएफलाई फाइदा के पनि रह्यो भने, राष्ट्रिय फुटबल टोलीले अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नु। यसका लागि एपीएफले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीलाई धन्यवाद पनि दिनुपर्छ। उनले प्रशिक्षणमा बोलाएका ३४ खेलाडी नै छाडेनन्। अब्दुल्लाहले दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली तयार पार्दा आहा रारामा सहभागी क्लबले आफ्ना महत्वपूर्ण खेलाडी मैदान उतार्नै पाएनन्।
मछिन्द्रका सात खेलाडी र मनाङका चार खेलाडी राष्ट्रिय टोलीमा छन्। जसको फाइदा एपीएफले उठायो। एपीएफका आशिष लामामात्रै राष्ट्रिय टोलीमा छन्।
जारी लिगको सुरूवाती चार खेलमा एक अंकसहित पुछारमा रहेको एपीएफ पाँचाै खेलमा जित निकाल्दा ११औं स्थानमा उक्लियो। नौं खेल खेल्दा हाल टोली १० अंकसहित नवौं स्थानमा छ। यो भनेको पुछारमा ३ अंकसहित रहेको फ्रेन्ड्स भन्दा सात अंक र १३औं स्थानमा रहेको च्यासल युथ (५ अंक) भन्दा पाँच अंकले माथि हो। जारी लिगका पुछारका दुई टोली दोस्रो डिभिजनमा झर्नेछन्।
एपीएफका प्रशिक्षक कुमार थापा भने खेलाडीको मिहेनतले यो उपाधि हात पारेको बताउँछन्। उनी लिगमा कठिन अवस्थामा रहेको र त्यसका बाबजुद पनि खेलाडीले मेहनत गरेको कारण उपाधि हात पारेको मान्छन्।
‘लिगमा जहिले पनि गाह्रो अवस्थामा थियौं। खराब अवस्थामा मोफसलमा पहिलो उपाधि जित्यौं। यो खेलाडीको मिहेनतको फल हो,’ उपाधिपछि न्युज कारखानासँग बोल्दै उनले भने।