एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेल २२ चैतमा दशरथ रंगशालामा हुने भएको छ।
जारी लिगको सातौं चरणमा लिग लिडरको रूपमा एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाएको मछिन्द्रले फिफा बरियताका आधारमा श्रीलंकाको सुपर लिग लिग च्याम्पियनलाई प्रतिस्पर्धाका लागि आतिथ्यता दिने भएको हो।
एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको समय र स्थान तय गरेसँगै खेल दशरथ रंगशालालमा साँझ ५ बजे सुरु हुने भएको छ।
मछिन्द्रले ब्लु स्टारलाई पराजित गर्न सफल भए दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग २९ चैतमा कोलकातामा प्रतिस्पर्धा गर्नेछ।
खेल जितेको खण्डमा मछिन्द्र एएफसी कपको समूह ‘डी’ मा स्थान बनाउने छ। जुन समूहमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किङ्ग्स र माल्दिभ्सको माजिया स्पोर्टस छन्।
यसअघि नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबले एएफसी कपमा सहभागीता जनाउँदै आएपछि यस वर्ष समयमै लिग हुँन नसक्दा मछिन्द्र साँतौ चरणमा शीर्षस्थानमा रहँदै छनोट भएको हो।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्दैछ। २०७६ सालको लिग च्याम्पियन भएपनि मछिन्द्र एएफसी क्लब लाईसेन्स नहुँदा प्रतियोगितामा भाग लिन पाएन र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले छनोटमा भाग लिएको थियो।
यद्यपि, आर्मी दोस्रो चरणबाट अगाडि बढ्न सकेन।