ए डिभिजन लिगको दशौं चरण शुक्रबारदेखि

File Photo
File Photo

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछ। यसअघि नवौं चरणमा एक खेल बाँकी राख्दै एन्फाले लिगलाई विश्राम दिएको थियो र राष्ट्रिय टोलीले पहिलोे अफ्रिकन प्रतिद्वन्द्वी मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 

बुधबार नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेलसँगै नवौं चरण सक्काएको एन्फाले दशौं चरणका खेल खेलाउन लागेको हो। यस चरणमा अन्य झै कुल सात खेल हुनेछन्। एक खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ भने ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। यो चरण जम्मा तीन दिनको हुनेछ। शुक्रबार दुई खेल हुनेछ, पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्नेछ। यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबको चुनौती पेस गर्नेछ। खेल दशरथ रंगशालामा क्रमशः १ बजे र साँझ पौने ५ बजे सुरु हुनेछ। 

यस्तै शनिबार तीन खेल हुनेछन्। एक खेल एन्फामा हुँदा दुई खेल दशरथ रंगशालामा हुनेछ। नेपाल पुलिस क्लब र सातदोबाटो एन्फामा १ बजे भिड्दा लिग लिडर मछिन्द्र फुटबल क्लबले सोही समयमा च्यासल युथ क्लबको दशरथ रंगशालामा सामना गर्नेछ। साँझ पौने ५ बजे त्रिपुरेश्वरमै हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दशौं चरणको अन्तिम दिन तथा आइतबार दुई खेल हुनेछन्। दुबै खेल दशरथ रंगशालामा हुँदा १ बजे दिउँसो न्युरोड टिम एनआरटीले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। यस्तै साँझ पौने ५ बजे हुने खेलमा एपीएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

जारी लिगमा २३ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ। १९ अंकको मनाङ दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ। यस्तै थ्रीस्टारको १६, संकटा १४, एनआरटी १३, सातदोबाटो १२, हिमालयन ११, एपीएफ १०, पुलिस १०, जावलाखेल ८, बीबीसी ६, च्यासल ५ र फ्रेन्ड्स ३ अंकसहित क्रमशः चौथो देखि १४औं स्थानमा छन्। 
 

प्रकाशित मिति: : 2022-02-10 16:11:00

प्रतिकृया दिनुहोस्