७५३ मध्ये ६५५ नगर र गाउँपालिका अझै दमकलविहीन

आगलागी हुँदा स्थानीयवासीले खबर गर्ने नजिकको निकाय हो स्थानीय सरकार । तर जनताको जीउधन र सम्पत्तिको रक्षा गर्न नभई नहुने दमकल जस्तो उपकरण समेत स्थानीय तहहरूसँग छैन । ७५३ मध्ये ६५५ नगरपालिका दमकलविहीन हुनु आम नागरिक हदैसम्म जोखिममा हुनु हो ।

अनलाइनखबर

काठमाडौँ

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विपद् व्यवस्थापनका लागि अत्यावश्यक उपकरण दमकल सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा प्राधिकरण ऐन, २०७४ ले पनि दमकललगायतका उपकरण तयारी हालतमा राख्ने जिम्मा स्थानीय तहलाई नै सुम्पिएको छ ।

तर, ७५३ स्थानीय तहमध्ये ६५५ नगरपालिका र गाउँपालिका अझै पनि दमकलविहीन छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ६ महानगरसँग २१ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।

मन्त्रालयका अनुसार, काठमाडौंमा ६, ललितपुरमा ३, पोखरामा ३, भरतपुरमा २, वीरगञ्जमा ३ र विराटनगर महानगरपालिकामा ४ वटा दमकल छन् । तर तीमध्ये सबै चालु अवस्थामा छैनन् ।

झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागढी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाले दमकल खरिद गरेका छन् । त्यसबाहेक ४५२ वटा गाउँपालिका अहिले पनि दमकलविहीन छन् ।

प्रकाशित मिति: : 2022-02-14 17:30:00

प्रतिकृया दिनुहोस्