धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता एलपीएल–५ अन्तर्गत बुधबार अत्तरियाको एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्। प्रतियोगितामा दुई खेल खेलेका दुवै टीमले अपराजित यात्रा कायम गरेका छन्।
बुधबार सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको सैनिक आवासीय महाविद्यालयले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो।
सैनिकका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाएका थिए। एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले २/२ विकेट लगेका थिए।
सैनिकले दिएको १ सय ४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो। एभरेस्टका लागि रिततक थापाले ४२ रन बनाएका थिए। सैनिक आवासीयका लागि आकाश चन्दले दुई तथा खड बोहरा र गौतम केसीले समान एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच एभरेष्टका गोविन्द बिस्ट भए।
यसैगरी बुधबार नै सम्पन्न दोश्रो खेलमा सत्यवती एकेडेमीले विद्याभूषण पब्लिक स्कुललाई ४ विकेटले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको विद्याभूषण १९ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रनमा समेटिन पुगेको थियो। उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए। सत्यवती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लगेका थिए।
जितका लागि १२२ रनको लक्षय पच्छ्याएको सत्यवतीले १६ ओभरमा जीत हाशिल गरेको हो। सत्यवतीलाई सहजै जित दिलाउने क्रममा यु–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रनको योगदान दिए।
विद्याभूषणका लागि शेर मल्लले दुई तथा वीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच सत्यवतीका सन्तोष कार्की भए। प्रतियोगिता विजेता टोलीले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।