प्रचण्डका दुई खुट्टा दुई डुङ्गामा: डुब्लान् कि उत्रिएलान्

File Photo
File Photo

यतिबेला देशैभर सतहमा आएको विवादित विषय हो, एमसीसी। अर्थात् अमेरिकी सहायता परियोजना।

सम्झौता भएको ४ वर्षपछि बल्ल एमसीसीले आइतबार (हिजो) ससंदमा टेबल पायो। त्यो पनि चर्को नाराबाजी र विरोधका बाबजुद।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा पहिलो पटक एमसीसी टेबल गर्दा देशैभर विरोध मोर्चाका दृश्यहरु देखिए।

संसद भवनको रोष्टममा पुगेर सञ्चारमन्त्री कार्कीले एमसीसी पेश गर्दै गर्दा बैठक भवनमै उपस्थित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दलका सांसदहरुले पनि चर्को नाराबाजी गरे। त्यतिमात्रै कहाँ हो र, सोही समयमा संसद भवनबाहिर त रणमैदान कै भूगोल बन्यो।

यसैबीच सबैभन्दा बढी विवादित बनेका पात्र हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। एकातिर बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमत गर्ने, अर्कोतिर आफ्नै नेता तथा कार्यकर्तालाई विपक्ष उभाएर मोर्चा निकाल्न संकेत गर्ने दोहोरो चरित्रकै कारण प्रचण्ड सबैभन्दा बढी विवादमा तानिएका हुन्।

प्रचण्डको दोहोर चरित्र छर्लङ्ग भएपछि उनकै पार्टीका सांसद र कार्यकर्ता भने चर्को नाराबाजी र मोर्चामा उभिए। यस्तो बेला सबैको मनमा आउने एउटा प्रश्न भनेको यही हो कि, आखिर प्रचण्डले किन दोहोर चरित्र देखाए ?

कुरा यस्तो छ:

वास्तवमा अमेरिका र चीनबीच कहिल्यै राम्रो सम्बन्ध भएन। नेपालले अमेरिकाको सहयोग लिँदा चीनलाई आपत्ती हुन्छ भने चीनको सहयोग लिँदा अमेरिकालाई आपत्ती। यसबाटै स्पष्ट हुन्छ कि ठोस म्याटर भनेको नेपाल चेपुवामा पर्दै गएको हो, चीन र अमेरिकाको।

प्रचण्डको मस्तिष्कमा एमसीसी जसरी पनि पास गर्नुपर्छ भन्ने छ। तर, आफ्नै नेता तथा कार्यकर्ताको आलोचनाबाट बच्न उनले एमसीसीलाई बिरोध गरेकोजस्तो गरेका हुन्।

प्रचण्डले दोहोरो चरित्र देखाउनुको मुख्य दुई कारण छन्। पहिलो हो, चीनसँगको सम्बन्ध कायमै राख्ने। किनकि नेपालका अन्य राजनीतिक दलहरुभन्दा चीनसँग माओवादी र माओवादीनिकट नेताहरुको राम्रो सम्बन्ध छ। कसरी राम्रो सम्बन्ध छ ? भन्ने कुरा प्रमाणित गर्न अहिलेसम्म माओवादी नेताहरुलाई चीन सरकारले उपलब्ध गराएको सहयोग हेर्दामात्र पनि पुग्छ। माओवादीका कुनै नेताहरु बिरामी भएमा सबैभन्दा पहिले जाने भनेकै चीन हो। किनकि चीन सरकारले माओवादी नेताहरुको कहिल्यै उपचार शुल्क लिएन। जसको कारण माओवादीको आर्थिक स्तरमा ठूलो सहयोग मिलेको छ। मिल्दै आएको छ। यदि एमसीसी पास गर्न माओवादीले पनि समर्थन गरेमा स्वतः चीन माओवादीसँग रुष्ट हुनेछ। र, अहिलेसम्म माओवादीलाई दिँदै आएको सहायत पनि कटौती हुनेछ।

यसर्थ, ठोकुवाका साथ भन्न सकिन्छ कि चीनलाई खुशी पार्नै भए पनि प्रचण्डले एमसीसीको विरोध गरेकोजस्तो देखाएका हुन्। तर, वास्तवमा उनको मनाशय भने चाहिँ जसरी पनि एमसीसी पास गर्ने नै हो।

यस्तै प्रचण्डले दोहोरो चरित्र देखाउनुको दोस्रो मुख्य कारण भनेको आगामी चुनाव हो। सरकारले आगामी वैशाख ३० स्थानीय चुनाव गर्ने घोषणा गरेसँगै प्रचण्डलाई यो डर छ कि आफ्नो पार्टी झन् तल खस्किदै जानेछ। प्रचण्डलाई यो राम्ररी थाहा छ कि एमसीसीको समर्थन गरे आफ्नै कार्यकर्ताले आफैलाई लात हान्नेछन्। र, विरोध गरे आफूहरु सरकारबाट बाहिरिनु पर्नेछ। तर, प्रचण्डलाई पनि यी दुवै कुरा मान्य छैन। चुनावमा पार्टीको स्तर र माहोल मजबुत बनाउन कार्यकर्ताको भावना र मागलाई पूरा गर्नै पर्नेछ। यदि यसो नभएमा आफूले राजनीतिबाट सन्यास लिनुपर्नेछ।

दुई डुङ्गाबाट खोला तर्दा डुब्ने सम्भावना हुन्छ भने झैं अहिले प्रचण्डलाई चीनसँगको सम्बन्ध र आगामी चुनावले दोहोरो चरित्रमा उभाएको हो। अब अन्त्यमा यो हेर्न त बाँकी नै छ कि, प्रचण्डले दुई खुट्टा दुई डुङ्गामा राखेर एमसीसीको खोला तर्न सक्छन् या डुबेर मर्छन्?

प्रकाशित मिति: : 2022-02-21 18:49:00

प्रतिकृया दिनुहोस्