नेपाली काँग्रेस धनुषाको अधिवेशन फागुन २३ गते 

विजय साह

जनकपुर

नेपाली काँग्रेस धनुषा कार्यसमितिले पार्टीको जिल्ला अधिवेशन फागुन २३ गते गर्ने निर्णय गरेको छ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २३ गते गर्ने निर्णय गरेको हो।

मधेश प्रदेशलगायत अधिवेशन हुन बाँकी रहेको १६ जिल्लाको अधिवेशन मिति पटक–पटक सर्दै आएको छ।

पछिल्लो पटक फागुन १५ गते हुन भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारीसहित पत्र पार्टीको केन्द्रीय कार्यसमितिल पठाएको छ।

केन्द्रले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न समय अनुकूल नमिलेका कारण जिल्ला कार्यसमितिले पार्टीको जिल्ला अधिवेशन गर्न आफ्नै मिति तय गरेको  नेपाली काँग्रेस धनुषा कार्यसमितिका कोषाध्यक्ष राजलाल महतोले बताए।

प्रतिनिधिसभा सदस्यहरु एमसीसीको विषयमा १५ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी जाने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी परिक्रमा प्रारम्भ हुने हुँदा जिल्ला अधिवेशन सारिएको उनले जानकारी दिए।

जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दावी विरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

जिल्लामा सभापति पदका लागि वर्तमान जिल्ला उपसभापती सन्तोष यादव, क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र पूर्व सभासदस्य दिनेश प्रसैलाले आ–आफ्नो उम्मेदवार घोषणा गरेको छ।

प्रकाशित मिति: : 2022-02-25 12:50:00

प्रतिकृया दिनुहोस्