युक्रेनमा शान्तिका लागि लुम्बिनीमा प्रार्थना

File Photo
File Photo

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा शान्ति दीप प्रज्ज्वलन गरिएको छ।

रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले १०८ दीप प्रज्ववलन र शान्ति प्रार्थना गरेका हुन्।

विश्व शान्तिको मुहान् लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु–भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र सिङ्गो मानव जगत्को रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेका लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले जानकारी दिएका छन्।

उनीहरूले हत्या, हिंसा र युद्धको स्थिति संसारभरबाट सदाका लागि अन्त्य होस् भन्ने कामना गरेका थिए। सो अवसरमा उनीहरूले रुस र युक्रेनबीच उत्पन्न तनावले संसारभरिका नागरिक आक्रान्त भएको, अशान्ति छाएको र चिन्ता थपिएको भन्दै जारी युद्ध तत्काल अन्त्य गरी वार्ता र संवाद थाल्न आग्रह गरे।

उनीहरूले यस्ता युद्ध तथा अशान्ति सिर्जना भएका मुलुकहरूका बीच शान्ति वार्ता गर्न विश्व शान्तिको मुहान् लुम्बिनी सबैभन्दा उपयुक्त स्थान हुने भएकाले शान्ति वार्ता र छलफलका लागि लुम्बिनी रोज्न विश्व समुदायलाई आग्रह गरे।

प्रकाशित मिति: : 2022-02-27 06:41:00

प्रतिकृया दिनुहोस्