तलब वृद्धि

File photo
File photo

लेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ। सङ्घीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट रु सात हजार थपेर आगामी चैत १ गतेबाट उपलब्ध गराउने गरी वृद्धि गरेको हो।

सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयअनुसार नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए। 

एघार वंडा रहेको नगरपालिकामा ८९ सामुदायिक विद्यालय सञ्चालित छन्। उक्त विद्यालयमा ५४ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, ८९ कार्यालय सहयोगी र १२ कर्मचारी कार्यरत रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिए। 

सरकारले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई मासिक रु आठ हजार तथा कर्मचारीलाई रु १३ हजार उपलब्ध गराउँदै आएको छ। उक्त तलबमा नगरपालिकाको तर्फबाट तीनवटै तहका कर्मचारीलाई मासिक रु सात हजार थप गरेर उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। 

सरकारले तोके अनुसारको तलब वृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासङ्घ र नेपाल शिक्षक सङ्घ हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले नगरपालिकालाई धन्यवाद दिएका छन्। उक्त दुई सङ्गठनले यसअघि उनीहरूको तलब वृद्धि गर्न माग गर्दै आएको थियो। 

दश स्थानीय तह रहेको जिल्लामा ऐसेलुखर्क, बराहपोखरी, रावाबेँसी र साकेला गाउँपालिकाले यसअघि नै तलब वृद्धि गरी सकेका छन्। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत पाँच स्थानीय तहले अहिलेसम्म सरकारले तोकेअनुसारको तलब दिएका छन्। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बाँकी पाँच स्थानीय तहले स्रोत अभाव देखाउँदै तलब वृद्धि गरेका छैनन्। जिल्लास्थित शिक्षक सङ्गठनले सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्न दबाब दिँदै आएका छन्।

प्रकाशित मिति: : 2022-02-28 11:20:00

प्रतिकृया दिनुहोस्