उर्लाबारीबाट एमाले नेता प्रधानसहित ७ जुवाडे पक्राउ

मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

उर्लाबारी-७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रधानसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले उर्लाबारी-५ का कमल शाक्य, उर्लाबारीका-१ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सुर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए।

पक्राउ परेका जवाडेलाई अहिले इलका प्रहरी कार्यालय उर्लाबारीमा राखेको छ।

प्रहरीले उनीहरुको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।

एमाले नेता प्रधानको घरमा दिनदहाडै तासको खाल बनाएर जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीलले जुवाडे पक्राउ गरेको हो। 

पक्राउ परेका प्रधान स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाअध्यक्षमा उठेका थिए। तर उनी पराजित भए। प्रधानले तासको खालमा सिसी टिभी पनि जडान गरेको पाइएको छ। 

‘घरमा कोही व्यक्ति आउँन सक्ने भएकोले त्यसको निगरानी राख्न सिसी टिभी पनि जडान गरेको पाइयो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले उनको घरमा छापा हान्दा पनि सिसी टिभी खुल्ला रहेको पाइएको थियो।’

प्रकाशित मिति: : 2022-03-03 07:34:00

प्रतिकृया दिनुहोस्