आसन्न नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले बिकेश कुथुलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ।
यस्तै, क्लबले प्रशिक्षकमा पनि बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ। गत वैशाखमा भएको एनएसएलको पहिलो संस्करणमा पनि काठमाडौंले विकेशलाई नै मार्की खेलाडीमा अनुबन्ध गरेको थियो।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)ले फुटबलको फ्रेन्चाइज लिग–एनएसएलको दोस्रो संस्करणका लागि भोलि (शुक्रबार) अक्सन गर्दैछ। त्यसअघि नै मार्की खेलाडीको टुङ्गो लगाउन क्लबलाई जानकारी दिएको थियो।
गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्ने छन्। जसका लागि विराटनगरले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई सार्वजनिक गरेको छ। गत सिजन बालगोपालकै नेतृत्वमा काठमाडौंले एनएसएलको पहिलो संस्करणमा उपाधि जितेको थियो।
२६ चैतदेखि सुरु हुन लागेको एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची–इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्ने छन्।
झापाले अञ्जन विष्ट, धनगढीले विशाल राईलाई मार्की खेलाडी घोषणा गरेका छन् भने ललितपुरले विमल घर्तीमगरलाई अनुबन्ध गरेको चर्चा छ।यसपटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो।