कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका चलचित्रहरू अवस्था सामान्य भएसँगै प्रदर्शन मिति घोषणा गर्न थालेका छन्। दिनहुँ प्रदर्शन मिति घोषणा गरिरहँदा चलचित्रहरूले एउटै प्रदर्शन मिति पनि रोज्न थालेका छन्।
कोरोनाले असर गरेको फिल्महरू एकआपसमा डेट जुध्नु राम्रो त होइन। तर, फिल्मका निर्माता तथा वितरकहरू बिदाको समयलाई नगुमाउने मनस्थितिमा देखिन्छन्।
एकै हप्ता दुई नेपाली फिल्मले प्रदर्शन मिति बुक गर्न थालेका छन्। यो चाप आउने वर्षको भदौमा देखिएको छ। ३ भदौमा केही दिन अगाडि ‘प्रेमगन्ज’ ले रिलिज घोषणा गरेको थियो। फिल्म १० भदौमा रिलिज गर्ने तयारी गरिए पनि उक्त डेटमा ‘पानीफोटो’ ले रिलिज हुने घोषणा गरेपछि ‘प्रेमगन्ज’ ३ भदौमा प्रदर्शन हुने तय भयो।
यद्यपि यसको केही समयपछि १० भदौमा ‘प्रकाश’ रिलिज घोषणा भयो। कोरोना महामारीको समयमा फिल्म एकआपसमा जुध्न नहुने चर्चाकै बीच ३ भदौमा ‘कृष्ण लीला’ रिलिज घोषणा भएको छ। भदौको पहिलो हप्ता कृष्णा लीला र प्रेमगन्ज तथा दोस्रो हप्ता पानीफोटो र प्रकाश प्रदर्शनमा आउने भएका छन्। हलिउड र हिन्दी भाषाको फिल्मसँग बचेर डेट घोषणा गर्नुपर्ने बाध्यता नेपाली फिल्मका निर्मातालाई भएकाले पनि फिल्म जुध्ने गरेका छन्।
नेपाली फिल्मका वितरकहरू हिन्दी भाषाका फिल्महरू तथा हलिउड फिल्महरूसँग नेपाली फिल्म नजुधाउन सुझाउने गरेका छन्। तर पनि नेपाली फिल्महरू आपसमा भिड्ने गरेका छन्। कोरोनाका कारण प्रदर्शन स्थगित भएका विदेशी फिल्महरू भटाभट प्रदर्शन हुने घोषणा हुँदा त्यसको प्रभाव नेपाली फिल्ममा पनि देखिएको हो।