फोहोरले कुरूप बन्यो पोखरा, निरीह महानगरपालिका !

पोखरा महानगरको फोहोर ४ दिनदेखि उठ्न सकेको छैन। चोक चोकमा फोहोर थुप्रिएर बसेको छ। फोहोरको ह्रास चोकचोकमा थुप्रिएर त्यसको दुर्गन्ध व्यापक रुपमा फैलिन थालेको छ। अहिले बाटोमा हिँड्दा पनि नाकै थुनेर हिँड्नु पर्ने बाध्यता पैदल यात्रीलाई छ।

अझ, पोखरा महानगरपालिका कार्यालय न्युरोड अघि थुप्रिएको फोहोरको डंगुरले त पोखरा महानगरको निरीहपन प्रष्ट देखाउँछ। महानगरको दुवै गेट अघि फोहोरको डंगुर चुलिँदा पनि महानगर भने टुलुटुलु हेरेर बसिरहेको छ।

किन उठ्न सकेन फोहोर ?

वडा नम्बर १४ मा छ, पोखरा महानगरको ल्याण्डफिल्ड साइट। ल्याण्डफिल्ड साइटको सट्टा स्थानीलाई विकास दिने झुठो बाचा गरेको भन्दै अहिले स्थानीय विरोधमा उत्रिएका छन्।

फोहोरका गाडी ल्याण्डफिल्ड साइटमा छिर्न नदिएपछि यो अवस्था आएको हो। फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा कुनै पनि गाडी अहिले छिर्न पाएका छैनन्। चोकचोकमा थुप्रिएका फोहोरका डंगुर कहिले उठ्ने हुन् स्वयः महानगरलाई पनि पत्तो छैन।

ल्याण्डफिल्ड साइट प्रभावित जनसरोकार समितिका अध्यक्ष बोधराज कार्कीले महानगरले स्थानीयलाई उपेक्षा गरेको भन्दै यो कदम चाल्न बाध्य भएको बताए। ‘जबसम्म तपाईंहरु तयार हुनुहुन्न। तबसम्म ल्याण्डफिल्ड साइट खुल्दैन भनेर हामीले भनेका छौं,’ उनले भने।

२०५७ सालमा महानगर र स्थानीयबीच ल्याण्डफिल्ट साइट राख्ने सम्झौता भएको थियो। ‘ल्याण्डफिल्ड साइट राख्न दिनुस्, हामीले विकास दिन्छौं भनेर भन्नुभएको थियो,’ उनले भने, ‘हामीले पटकपटक ताकेता गर्दा पनि उहाँहरुले सुन्नुभएन।’

यसअघि पनि महानगरले आफूहरुलाई झुक्याएको भन्दै ल्याण्डफिल्ट साइटका पीडितहरु विरोध स्वरुप फोहोर फाल्न दिएका थिएनन्। त्यो बेला फोहोर उठाउन बाटो खोलिदिए पनि फेरि त्यो सम्झौता लत्याइएको अध्यक्ष कार्कीले बताए।

अहिले भने कुनै पनि हालतमा आफूहरु पछि हट्ने पक्षमा नरहेको उनले सुनाए। ल्याण्डफिल्ट साइटको लागि सहमति हुनुअघि विभिन्न २७ बुँदामा सहमति भए पनि सहमति पालना नभएको उनले बताए। १४ महिनाअघि ७ बुँदामा सहमति गरेर ल्याण्डफिल्ट साइट प्रभावितलाई विकास दिने लगायतका सहमति गरे पनि पालना नभएको उनले बताए।

सहमति पालना नगरे फोहोर फाल्न नदिने भन्दै महानगरमा जाँदा उल्टै रोकेर टाउको नदुख्ने भन्दै फर्काइएको उनले सुनाए। पोखरा महानगरकी स्वास्थ्य महाशाखा प्रमुख कल्पना बरालले नागरिकहरुसँग समन्वय गरेर छिट्टै फोहोर उठाउनुपर्ने बताइन्। ‘नागरिकहरुसँग समन्वय गरेर छिट्टै खुलाउनुपर्ने हो। कहिलेसम्म खुल्छ त अहिले नै भन्न सकिनँ मैले,’ उनले भनिन्।

फोहोर लिएर गएको गाडीलाई स्थानीयले ल्याण्डफिल्ड साइट पस्नै नदिएको उनले बताइन्। ‘हामीले दिनदिनै फोहोर उठाउथ्यौं। फोहोर लिएर गएको गाडीलाई स्थानीयले पस्नै दिनुभएन,’ उनले भनिन्। फोहोर लिएर गएका गाडीहरु लगालग फर्काइएपछि अहिले फोहोर चोकचोकमा थुप्रिएका छन्।

यसरी थुप्रिएका फोहोर कहिले व्यवस्थित हुन्छन् महानगरलाई नै कुनै पत्तो छैन। पोखराबाट दैनिक १ सय १० टन फोहोर उठ्ने गर्छ। तर, ४ दिनदेखि ल्याण्डफिल्ड साइट जानुपर्ने फोहोर महानगरको चोकचोकमा थुप्रिएर बसेका छन्।

प्रकाशित मिति: : 2022-03-18 18:45:00

प्रतिकृया दिनुहोस्