राजनीतिमा राजेन्द्र लिङ्देनको 'क्रेज' बढ्दै

राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन्। 

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन  हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्। 

यसरी कार्यक्रम गरिरहँदा विशेषगरी माओवादी केन्द्र र राप्रपाको हैसियतमा फेरबदल आएको देखिन थालेको छ।

दुबै दलले दैनिकजसो कार्यक्रम गरेता पनि  राप्रपाका कार्यक्रममा बढी जनताको सहभागिता देखिएको छ।

साविक नेकपा र एमाले विभाजनले माओवादीलाई नकारात्मक प्रभाव पर्दा नयाँ नेतृत्व पाएको राप्रपाप्रति भने जनताको विश्वास बढेको देखिन्छ।

गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको छ।

यता साविक नेकपा र एमाले विभाजनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको आरोप खेपेको माओवादीले जनमत गुमाउँदै गएको छ।

शनिबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा माओवादी केन्द्र र राप्रपाले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो।  जहाँ माओवादीलाई भन्दा राप्रपालाई सिन्धुलीवासीले साथ दिएको देखियो। 

सिन्धुलीमा हरिबोल गजुरेल जस्ता नेता पाएको माओवादीले अध्यक्ष प्रचण्डको प्रमुख उपस्थितिमा सदरमुकाममा आयोजना गरेको कार्यक्रम एउटा हलमा सीमित भयो।

दुई महामन्त्री भुवन पाठक र राजेन्द्र गुरुङलाई साथ लिएर सिन्धुली पुगेका राप्रपा अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा सम्बोधन भएको सिन्धुलीमाढीको खुलामञ्चमा आयोजित आमसभामा जनताको  उत्साहजनक सहभागिता रहेको थियो।

परम्परागत र सम्भ्रान्त नेतृत्वले लामो समय निरन्तरता पाएको राप्रपामा लिङ्देनको उदय भएपछि राप्रपातर्फ जनताको आकर्षण बढिरहेको देखिन्छ।

लिङ्देन जहाँ पुग्छन् त्यहाँ राप्रपाका नेता कार्यकर्ता मात्रै होइन आम जनताको सहभागीता उल्लेखनीय रुपमा भइरहेको छ।

पछिल्लो महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उनले फागुनबाट शुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन्।

राप्रपा र लिङ्देनको क्रेज बढेसंगै नेपाली राजनीतिको आगामी समीकरण र शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने विश्लेषण रहेको छ।


 

प्रकाशित मिति: : 2022-03-19 22:04:00

प्रतिकृया दिनुहोस्